• ४ फागुन २०८२, सोमबार

लोप हुने अवस्थामा करुवानाच

blog

कावासोती समाचारदाता

कावासोती, फागुन ४ गते । मगर समुदायको मौलिक संस्कृतिको पर्याय बनेको करुवानाचको उत्थान र विकासमा युवाले चासो कम देखाउन थालेपछि उक्त नाच लोप हुने अवस्थामा पुगेको छ । मगर जातिको मुख्य नाचका रूपमा स्थापित करुवानाच यसअघि निकै उत्साहजनक थियो तर अहिले गाउँ छाडेर पलायन हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि पलायनले समेत नाच सङ्कटमा पर्दै जान थालेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । 

मगर जातिको हरेक चाडपर्वदेखि सांस्कृतिक कार्यक्रममा करुवानाचले पहिलो प्राथमिकता पाउने गर्छ तर अहिले केही समययता मगर समुदायका युवा विदेश जाने, भएका अरू पनि गाउँबाट पलायन हुने समस्याले गाउँघरमा प्रचलनमा रहेको करुवानाच बिस्तारै लोप हुन थालेको मगरले बताउनुभयो । 

गाउँघरमा हुने प्रायः सबैमा करुवानाचको प्रस्तुतिले मगर समुदायको जीवनस्तर उकासिनुका साथै नाचले छुट्टै रौनकतासमेत थप्ने गरेको थियो तर पनि यसको लोप हुने खतरालाई समाप्त गर्दै जगेर्ना गर्न बुढापाकादेखि युवा लागिपरेका बुलिङटार गाउँपालिका–२, धौवादीका युवराज गरन्जामगरले बताउनुभयो । अहिले हरेक गाउँ गाउँमा लाफा समूह बनाएर करुवानाचको सांस्कृतिक महत्वलाई झल्काउने गरी प्रचारप्रसारमा मगर समुदाय लागिपरेको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले बताउनुभयो ।