काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्रै हुने भएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन फागुन २१ गते हुँदै छ । सोही मितिदेखि राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको कार्यकालसमेत सुरु हुने छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि मात्रै हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने छ । नवनिर्वाचित सदस्यको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुने छ तर सोही दिन निर्वाचनको मिति जुधेकाले निर्वाचनपछि मात्रै शपथग्रहण हुने तयारी छ ।”
नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गतेपछि हुने भए पनि कार्यकाल फागुन २१ देखि नै गणना हुने छ । प्रवक्ता गिरीले भन्नुभयो, “फागुन अन्तिम साता शपथ हुने छ । संसद्को अर्को अधिवेशन आह्वान भएपछि शपथग्रहण गरेका सदस्यहरूले औपचारिक रूपमा कार्यभार समाल्नु हुने छ ।”
अधिवेशन आह्वान हुनुअघि सदस्यको व्यक्तिगत विवरण अद्यावधिक गर्नेलगायतका काम हुने छन् । राष्ट्रिय सभाका उपाध्यक्षसहित कार्यकाल सकिएका १८ सदस्यमध्ये तीन जना विषयगत समितिका सभापति पनि हुनुहुन्छ । राष्ट्रिय सभामा थप दुई जना सदस्यको पद रिक्त छ । राष्ट्रपतिबाट मनोनीत हुने एक र नेपाली कांग्रेसबाट निर्वाचित सभाका सदस्य बलदेव बोहोराको निधनपछि दुई पद रिक्त छन् ।
उपाध्यक्ष र समिति सभापति रिक्त हुने
सभाका उपाध्यक्ष विमला घिमिरेको यसै फागुन २० गते कार्यकाल सकिने हुँदा उपाध्यक्ष पद पनि रिक्त हुने छ । त्यसै गरी राष्ट्रिय सभा अन्तर्गतका तीन वटा विषयगत समितिका सभापतिको समेत कार्यकाल सकिँदै छ । यसरी सभाका उपाध्यक्षसहित तीन वटा विषयगत समितिको सभापतिको निर्वाचन गर्नुपर्ने छ । अधिवेशन चालु रहेको अवस्थामा पद रिक्त भएको १५ दिनभित्र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रिय सभा नियमावलीको नियम ८ (क) मा अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा पद रिक्त हुँदाका बखत अधिवेशन चलिरहेको भएमा पद रिक्त भएको मितिले १५ दिनभित्र र अधिवेशन नचलेको भएमा त्यसपछि अधिवेशन सुरु भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
अधिवेशन नचलेको अवस्थामा उपाध्यक्ष पद रिक्त हुने छ । तसर्थ प्रतिनिधि सभाको निर्वाचनपछि आह्वान हुने सङ्घीय संसद्को दुवै सदनको अधिवेशन सुरु भएपछि मात्रै उपाध्यक्ष पदको निर्वाचन हुने छ । प्रवक्ता गिरीले अधिवेशन सुरु भएको १५ दिनभित्र उपाध्यक्ष पदका लागि निर्वाचन हुने बताउनुभयो ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाल, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा र विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तको कार्यकाल सकिँदै छ । प्रवक्ता गिरीले नियमावलीको व्यवस्थाबमोजिम तीन वटै विषयगत समितिको सभापतिको निर्वाचनसमेत अधिवेशन सुरु भएपछि हुने जानकारी दिनुभयो ।
दुई पद अझै रिक्त
राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि गत माघ ११ गते निर्वाचन भएर १८ जना सदस्य निर्वाचित भएका छन् । यद्यपि दुई पद अझै रिक्त छन् । राष्ट्रपतिबाट मनोनीत भएका सदस्य वामदेव गौतमले राजीनामा गरेपछि मनोनीत सदस्य पद रिक्त छ । त्यसै गरी सुदूूरपश्चिम प्रदेशबाट निर्वाचित सदस्य बलदेव बोहोराको निधन भएकाले सो पद रिक्त छ । प्रवक्ता गिरीले मनोनीत सदस्य रिक्त भएको विषयमा नेपाल सरकारलाई औपचारिक पत्रमार्फत नै जानकारी गराइसकेको बताउनुभयो । सदस्य बोहोराको निधन भएर रिक्त भएको पद सम्बन्धमा समेत नेपाल सरकार र निर्वाचन आयोगलाई जानकारी गराइएको उहाँले बताउनुभयो । उहाँ सुदूरपश्चिम प्रदेशको अन्य समूहबाट निर्वाचित हुनुभएको थियो । निर्वाचनबाट पूर्ति हुने सदस्यसमेत सोही समूहबाट पूर्ति हुने छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनले पदावधि समाप्त भई रिक्त हुन आउनेबाहेक अन्य कुनै कारणले पद रिक्त भई उपनिर्वाचन गर्नुपर्ने अवस्थामा पद रिक्त भएको मितिले ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्नुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ६१ अनुसार फागुन ५ गतेभित्र उपनिर्वाचन हुनुपर्ने हो तर उपनिर्वाचनको मितिसमेत तोकिएको छैन । बोहोराको गत पुस ३० गते निधन भएको थियो । रिक्त पदमा निर्वाचित हुने सदस्यको २०८६ फागुनसम्म कार्यकाल रहने छ ।