• १ फागुन २०८२, शुक्रबार

फागुन १ को स्मरण गरिँदै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ,फागुन १ गते । माओवादी पृष्ठभूमि भएका पार्टीहरूले फागुन १ गते ३० वर्षअघिको बलिदानी स्मरण गर्दै विभिन्न कार्यक्रम गर्दै छन् । उनीहरूले आजको दिनलाई ‘३० औँ जनयुद्ध दिवस’ का रूपमा स्मरण गर्ने भएका हुन् । तत्कालीन नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले रुकुमको राडिज्युला, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैङ्कमा आक्रमण गरेर २०५२ साल फागुन १ गते सशस्त्र युद्ध उद्घोष गरेको थियो । 

यही दिनलाई स्मरण गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दर्जनभन्दा बढी एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै छ । नेकपाले पार्टी केन्द्रीय कार्यालयसहित देशैभर ३१ औँ जनयुद्ध दिवस मनाउने निर्णय गरेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

“पार्टी केन्द्रीय कार्यालयमा प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा जनयुद्ध दिवसको कार्यक्रम हुने भएको छ भने पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वको रुकुमकोटमा आयोजना भएको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ,” उहाँले भन्नुभयो, “सबै नेता चुनाव प्रचारमा होमिएकाले आ–आफ्नो अनुकूलतामा प्रदेश, जिल्ला र स्थानीय तहमा दिवस मनाउन निर्देशन दिएको छ ।” 

नेताहरूले आ–आफ्नो सापेक्षतामा औचारिक कार्यक्रमसहित साहित्यिक, खेलकुदलगायत रचनात्मक कार्यक्रम हुने बताएका छन् । माओवादीबाट विभाजित भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि विविध कार्यक्रम गरेर यो दिवस मनाउने भएका छन् ।

माओवादी जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशितासहित देशमा उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायको चेतनाको विगुल फुकिए पनि अझै देशमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले टिप्पणी गर्नुभयो । “जुन उद्देश्य र सपनासाथ हामीले परिवर्तनको यात्रा सुरु गरेका थियौँ, त्यसले ल्याएको राजनीतिक परिवर्तनलाई जुन रूपमा संस्थागत गर्नुपर्ने थियो, त्यो सोचेजस्तो हुन सकेको छैन,” उहाँले भन्नुभयो, “हामी गम्भीर आत्मसमीक्षाको चरणमा छौँ । यद्यपि इतिहासमा उत्पीडित जनतालाई जागृत गर्ने जुन काम भयो, त्यसमा हामीलाई गौरव छ । ती उपलब्धिलाई संस्थागत र व्यवस्थापन गर्ने कुरामा हाम्रा केही कमजोरी भए स्वीकार गर्नैपर्छ ।” 

तत्कालीन माओवादीको जनमुक्ति सेनाको समायोजन, हतियार व्यवस्थापनसहित धेरै महत्वपूर्ण विषय सम्बोधन भए पनि घाइते, अपाङ्ग, सहिद परिवारलाई सोचेजति सम्बोधन गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । माओवादी युद्धकालीन मुद्दा सत्यनिरूपण तथा मेलमिलापमार्फत सम्बोधन गर्ने भनिए पनि सम्बोधन हुन सकेको छैन । २०५२ साल फागुन १ देखि २०६२ मङ्सिर ५ गतेसम्मको माओवादी युद्धको सन्दर्भमा आयोगमा ६३ हजार ७१८ उजुरी परेका छन् । यस्तै बेपत्ता आयोगमा पाँच हजार ४७१ उजुरी परे पनि छानबिन भई दोषीलाई कारबाही भएको छैन । शान्ति सम्झौता भएको १९ वर्ष हुँदासमेत शान्ति प्रक्रिया टुङ्गो नलाग्नु दुःखद भएको उहाँले बताउनुभयो ।