राजु लामिछाने
रुकुमपश्चिम, माघ २९ गते । रुकुमपश्चिममा आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्म हेड क्वाटरमा निर्वाचन प्रहरी अनुशिक्षण तालिमको अन्तिम प्रवचन कार्यक्रम सम्पन्न गरिएको हो । यस अघि जिल्ला प्रहरी कार्यालयमा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रशिक्षण समापनको अवसरमा आयोजित अन्तिम प्रवचन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्वाचन प्रहरीहरूलाई निर्देशन दिनुभयो । उहाँले राष्ट्रले सुम्पेको महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर जिम्मेवार निर्वाचन प्रहरी र असल नागरिक बन्नुपर्ने बताउनुभयो । छोटो समयका लागि निर्वाचनको सुरक्षामा परिचालन हुने अवसरले भविष्यका अन्य अवसरका ढोकाहरू समेत खुल्ने प्रजिअ थानीले जनाउनुभयो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक जनदिशचन्द्र हमालले तालिममा सिकेका कुराहरूको व्यवहारिक कार्यान्वयन, उच्च अनुशासनको पालना भएमा देश प्रति सच्चा योगदान हुने बताउनुभयो । उहाँले निर्वाचन जस्तो महत्त्वपूर्ण कार्यमा संलग्न हुन पाउनु गर्वको विषय भएकोले कर्तव्यनिष्ठ भएर काम गर्नमा जोड दिनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माका अनुसार तालिममा ९६ जना निर्वाचन प्रहरीहरू सहभागी रहेका छन् । पोशाक लगायतका आवश्यक बन्दोबस्तीका सामाग्रीहरू उपलब्ध गराएर कार्यस्थलमा परिचालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । निर्वाचनको सुरक्षाका लागि सानीभेरी गाउँपालिकाको सिम्लीमा सशस्त्र प्रहरी नायक उपरीक्षकको नेतृत्वमा निर्वाचन क्षेत्र सुरक्षा बेस समेत स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले पनि तीन स्थानमा सञ्चालन गरेको निर्वाचन प्रहरी तालिम सम्पन्न गरेको छ । कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जिल्ला सदरमुकाम मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिकामा तालिम सञ्चालन गरिएको थियो । तीनै स्थानका तालिममा ८५३ जना निर्वाचन प्रहरी सहभागी रहेका थिए ।
तालिम माघ १८ गतेबाट सुरु भएको थियो । निर्वाचन प्रहरीहरूलाई आवश्यक सामग्री तथा तयारीका साथ विभिन्न प्रहरी युनिटमा परिचालन गरिने छ । निर्वाचनको शान्ती सुरक्षाका लागि प्रहरीहरूसँगै मतदान केन्द्र तथा स्थलहरूमा उनीहरू परिचालन हुने छन् ।
तालिममा शारीरिक अभ्यासका साथै निर्वाचन प्रहरीका लागि सैद्धान्तिक तथा व्यवहारिक विषय, विपत् व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको बताइएको छ । निर्वाचनका लागि रुकुम पश्चिममा जम्मा ९४९ जना निर्वाचन प्रहरी परिचालन हुने छन् ।
तालिम समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक जनदिशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना, गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष भीमराज ओली लगायतको आतिथ्यता रहेको थियो ।