जीवछ यादव
लहान, माघ २९ गते। लहान नगरपालिका–३ स्थित सगरमाथा चौधरी आँखा अस्पतालले सन् २०२५ मा मात्र ६२ हजार २७६ जना बिरामीको आँखाको शल्यक्रिया गर्न सफल भएको छ।
स्थापनाको ४३औँ वर्षमा प्रवेश गरेको यस अस्पताल तथा अन्तर्गतको कान उपचार केन्द्रले समुदायस्तरमा शिविर, विद्यालय जाँच तथा घरदैलो कार्यक्रम सञ्चालन गरी एक वर्षमा सात लाख ६२ हजार ८४२ बिरामीको आँखा तथा कान जाँच गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जय सिंहले जानकारी दिनुभयो।
स्थापनाकालदेखि हालसम्म एक करोडभन्दा बढी बिरामीको ओपीडी जाँच र २५ लाखभन्दा बढी बिरामीको शल्यक्रिया गर्न सफल सगरमाथा चौधरी आँखा अस्पताल जर्मन नागरिक चिकित्सक डा. अल्बर्ट हेनिङले नेपाल नेत्रज्योति संघको सहयोगमा ४३ वर्षअघि स्थापना गर्नुभएको थियो।
सुरुमा हालको रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको दुई कोठे भवनबाट सेवा सुरु गरिएको यस अस्पतालले हाल करिब ५४ करोड रुपैयाँको लागतमा आधुनिक उपचार तथा प्रशासनिक भवनसहित ९५८ शय्याको सेवा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको छ।
अस्पतालमा आँखासम्बन्धी सबै उपचार सेवा उपलब्ध रहेको छ। आधुनिक ‘फेको इमल्सिफिकेसन’ प्रविधिबाट सन् २०२५ मा १४ हजार ७५५ मोतिबिन्दुको शल्यक्रिया गरिएको मेसु सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार सात प्रकारका तालिम तथा अनुसन्धान सञ्चालन गर्दै आएको यस अस्पतालले एसियामै तेस्रो स्थान हासिल गर्नुका साथै अन्तर्राष्ट्रियस्तरको ओफ्थाल्मिक अवार्डसमेत प्राप्त गरेको छ।
बुधबार सम्पन्न ४३औँ वार्षिकोत्सव समारोहमा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा. चेतराज पन्थले स्थापना कालदेखि गरिएको उपचार र अनुसन्धानका कारण अस्पताल लहान मात्र नभई देशकै गौरव बनेको बताउनुभयो। “नेपालमा लुम्बिनी र मधेश प्रदेशमा आँखाका बिरामी बढी भएकाले उपचारको गति अझै बढाउन आवश्यक छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा लहान नगरपालिकाको आर्थिक तथा व्यवस्थापन सहयोगबाट एक वर्षमा विपन्न तथा दलित समुदायका तीन हजार बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो। “लहानलाई शिक्षा र स्वास्थ्यको हब बनाउने कार्यमा सगरमाथा चौधरी आँखा अस्पतालले अग्रणी भूमिका खेलेको छ,” उहाँले भन्नुभयो।
वार्षिकोत्सव समारोहमा शिविर सञ्चालन गर्ने संघ–संस्था, चिकित्सक, जनप्रतिनिधि तथा कर्मचारीलाई सम्मान गरिएको थियो। अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले अस्पताल परिसरमा मेडिकल कलेज स्थापना गर्ने उद्देश्यसहित नेपाल नेत्रज्योति संघको विधान संशोधनका लागि केन्द्रीय अध्यक्ष पन्थको ध्यानाकर्षण गराउनुभएको थियो। अस्पताल सञ्चालनका लागि जग्गा दान गर्ने स्वर्गीय सरोवारलाल चौधरी र छविलाल चौधरीको परिवारलाई पनि सम्मान गरिएको थियो।