• २९ माघ २०८२, बिहिबार

आचारसंहिता उल्लङ्घन : चवन्न वटा स्पष्टीकरण सोधियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कारबाहीको प्रक्रियालाई तीव्रता दिएको छ । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिसँगै प्रदेश तथा जिल्ला आचारसंहिता समिति तथा अनुगमन अधिकृतबाट पनि कारबाहीको प्रक्रिया अन्तर्गत स्पष्टीकरणलाई तीव्रता दिइएको छ । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्णय अनुसार बुधबारसम्म ५४ वटा स्पष्टीकरण सोधिएको छ । जसमध्ये ३० वटामा जवाफ प्राप्त भएको छ । 

आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार आचारसंहिता उल्लङ्घनमा राजनीतिक दल, उम्मेदवार र विभिन्न निकाय गरी ५४ स्पष्टीकरण सोधिएको हो । राजनीतिक दल, उम्मेदवारमध्ये पाँच वटालाई दोहो¥याएर स्पष्टीकरणसमेत सोधिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिले केही विषयमा भने थप बुझेर जानकारी गराउन सम्बन्धित जिल्लाका अनुगमन अधिकृतलाई समेत पत्राचार गरेको छ । 

आयोगका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रोल्पाका उम्मेदवार वर्षमान पुनलाई स्पष्टीकरण सोधिएको छ । यस्तै बैतडीमा नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारी, नेपाली कांग्रेसका गोरखा १ का उम्मेदवार प्रेमकुमार खत्रीलाई स्पष्टीकरण सोधिएको छ । विद्यालयमा कार्यक्रम गरेकामा पुनलाई पत्र काटिएको हो । यस्तै भण्डारीले चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेको उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो । खत्रीले भने आयोगले तोकेको समयभन्दा अघि नै चुनावी सभा गरेकामा स्पष्टीकरण सोधिएको हो । 

यस्तै आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई पनि धमाधम स्पष्टीकरण सोधेको छ । दाङको घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, दोलखाको वैत्यश्वर गाउँपालिका–५ का वडाध्यक्ष भुवन घिमिरेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । जनप्रतिनिधि भएर दलको प्रचारमा निरन्तर संलग्न भएको आरोपमा स्पष्टीकरण सोधिएको हो । आयोगले स्पष्टीकरण सोधेका अन्यमा जनप्रतिनिधिसँगै शिक्षकसमेत छन् । 

मतपत्र छपाइ

आयोगका अनुसार बुधबार बिहान ८ बजेसम्म एक करोड ४९ लाख दुई हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ जारी छ । बुधबार बिहानसम्म ५३ जिल्लाको मतपत्र छपाइ सकिएको छ । ५३ जिल्लाकै मतपत्र प्याकेजिङसमेत भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ११७ निर्वाचन क्षेत्रको छपाइ सकिएको छ । समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्षको सुरु भएको थियो । मतदाता शिक्षा प्रयोजनका मतपत्रको छपाइ पनि यसअघि नै सकिएको छ । प्रत्यक्षतर्फ भने आयोगले उच्च हिमाली र हिमाली क्षेत्रको छपाइलाई प्राथमिकता दिएको थियो । ढुवानीका लागि प्राथमिकता दिन आयोगले ती क्षेत्रको मतपत्र छपाइमा प्राथमिकता दिएको हो ।