काठमाडौँ, माघ २७ गते । खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लबले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा मङ्गलबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिग खेलमा खुम्बुले नाम्चे युथ क्लबलाई ३–१ गोलले हरायो । विजेताका ‘प्लेयर अफ दि म्याच’ दावा स्टेविन शेर्पाले दुई तथा सोनाम शेर्पाले एक गोल गर्नुभयो ।
नाम्चेका टासी दोर्जे शेर्पाले सान्त्वना गोल फर्काउनुभयो । लगातार दोश्रो जितसँगै खुम्बुको ६ अङ्क पुगेको छ । दुई खेलमा नाम्चेको पहिलो हार हो ।
१४ पिक्स एक्सपेडिसनको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको समूह ‘बी’ कै लिगमा आमादब्लमले ठामिछोवा फुटबल टिमलाई १–० गोलले हरायो ।
जिक्मी शेर्पाले निर्णायक गोल गर्नुभयो । कर्मा टासी शेर्पा ‘प्लेयर अफ दि म्याच’ बन्नुभयो । दुई खेल खेलेको आमादब्लमले पहिलो जित हात पारेको हो । त्यत्तिनै खेलमा ठामिछोवाले लगातार दोश्रो हार खेप्यो ।