• २७ माघ २०८२, मङ्गलबार

बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१९ पुग्यो

blog

एचआइभीसम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, माघ २७ गते ।
जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २१९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार एचआइभी सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै बागलुङ नगरपालिका र थोरै ताराखोला गाउँपालिकामा छ ।

बागलुङ नगरपालिकामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६१, काठे खोला गाउँपालिकामा २३, तारा खोलामा ३, तमान खोलामा ५, निसी खोलामा ५, बडिगाडमा १३, बरेङमा ३, जैमिनी नगरपालिकामा २२, गलकोट नगरपालिकामा २५ र अन्य ३८ जना रहेका छन् ।

जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार, सङ्क्रमितमध्ये एक्काइस जना १८ वर्ष मुनिका रहेका छन् । ‘‘गतवर्ष २० हजारमा जाँच गर्दा १० जनामा एचआइभी सङ्क्रमित फेला परे’’ घिमिरेले भन्नुभयो, ‘‘एचआइभी पुष्टि हुनेहरू अधिकांश भारतमा रोजगारी गरी फर्किएकाहरू छन् ।’’

सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधी सेवनको दायरामा ल्याउने काम चुनौतीपूर्ण भएकोले एचआइभी पहिचानको दर, उपचार पद्धति र सङ्क्रमण रोकथामलाई सन् २०३० सम्ममा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य भेटाउन धेरै मिहिनेत गर्नुपर्ने घिमिरेले बताउनुभयो । ‘‘नेपालमा एचआइभी सङ्क्रमित पत्ता लगाउने दर ९३ प्रतिशत, उपचार ८६ प्रतिशत र नियन्त्रण ७७ प्रतिशत छ । ९५ प्रतिशतमा लैजाने चुनौती छ,’’ घिमिरेले भन्नुभयो ।

असुरक्षित यौनसम्पर्क, रगत लिनेदिने काम तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सङ्क्रमण हुने गर्छ । सङ्क्रमितलाई दिर्घरोग तथा अन्य प्राणघातक रोग लाग्दा निको नहुने भएकोे छिटो मृत्यु हुने गरेको छ । क्षयरोग, हेपाटाइटिस लगायतका रोग लागेमा एचआइभी भएकाहरूको मृत्यु हुने दर बढी हुने घिमिरेले जानकारी दिनुभयो ।

एचआइभीबारे समुदायमा चेतना विकास गर्ने, सचेत बनाउने, रोग लाग्नै नदिने उपायको खोजी गर्ने काम भइरहेको घिमिरेले बताउनुभयो । ‘‘त्यसबाहेक सङ्क्रमित आमाबाट बालबालिकामा सर्न नदिन विशेष सर्तकता अपनाउने काम पनि अभियानको रूपमा चलेकाले हरेक गर्भवती आमाले नियमित स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ,’’ घिमिरेले भन्नुभयो ।

धौलागिरि अस्पतालको एआरटी सेन्टरबाट निःशुल्क औषधी पाइने भए पनि कतिपय उपचारको पहुँचमा नआउने, आएकाहरू पनि खुल्न नचाहने गरेकोले यो समस्या जटिल रहेको छ । त्यसका लागि धौलागिरि पोजेटिभ समूहले समुदायसम्मै पुगेर औषधी दिने काम गरेको छ । बुर्तिवाङ अस्पतालबाट पनि सङ्क्रमितले औषधी सेवन गरेका छन् भने अन्यले धौलागिरि अस्पतालबाटै सेवा लिएका हुन् ।

सङ्क्रमण दर कम गर्नेसँगै सङ्क्रमितलाई लान्छाना र भेदभाव न्यूनीकरण गर्ने, नयाँ सङ्क्रमण रोक्ने र मृत्युदर घटाउने लक्ष्यमा जनस्वास्थ्य कार्यालयले काम गरिरहेको छ । लक्ष्य प्राप्तिका लागि जिल्लामा खोजी तथा पहिचान, उपचारको दायरामा ल्याउने र रोकथाम गर्ने क्रम चलिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रविण शर्माले बताउनुभयो ।