लेनडाँडा (मकवानपुर), माघ २४ गते । समृद्धिमा लम्केको विश्वजगत्, छिमेकी मुलुक भारत र चीनमा भइरहेको तीव्र आर्थिक विकास आफ्नै मुलुकमा देख्ने नेपालीको अभिलाषा पूरा गर्ने गरी काठमाडौँ–तराई/मधेश जोड्ने द्रुतमार्गले गति लिएको छ ।
दक्षिण एसियाकै नमुना तथा सडक पूर्वाधार विकासकै मोडेलका रूपमा बन्दै गरेको यो राष्ट्रिय गौरवको द्रुतमार्ग बनेसँगै मुलुकमा नयाँ सम्भावना, विकास र अवसरका अनेकौँ ढोका खुल्ने छन् । तराईदेखि काठमाडौँसम्म २१७ किलोमिटर दुरी अब ७२ किमिमा सीमित हुँदा आठ/दस घण्टाको जोखिमपूर्ण, कष्टकर र खर्चिलो यात्रा केवल एक घण्टामा पूरा हुने छ । विक्रम संवत् २०७४ मा सरकारले द्रुतमार्ग निर्माण जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय ग¥यो । द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि विभिन्न विदेशी कम्पनीमार्फत २०७९ फागुन १९ गतेदेखि द्रुतमार्ग निर्माण सुरु भएको थियो । हाल आयोजनाको ४५.१६ प्रतिशत भौतिक र ४५.३३ प्रतिशत वित्तीय काम सकिएको छ । द्रुतमार्ग २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले तोकिएको समयसीमाभित्रै द्रुतमार्ग निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको बताउनुभयो । झन्डै ११ किमि सुरुङमार्गमध्ये लेनडाँडा र धेन्द्रेको छिचोलिइसकेको र महादेवटार सुरुङको करिब ७० प्रतिशत काम सकिएको बताउँदै बस्नेतले भन्नुभयो, “८९ वटा पुलमध्ये ८५ वटाको ठेक्का भई काम सुरु भइसकेको छ । हामी निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्यसाथ बढिरहेका छौँ ।”
यसरी सुरु भयो द्रुतमार्ग निर्माण
विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले द्रुतमार्ग निर्माण परिकल्पना गर्नु भई सम्भाव्यता अध्ययन गराउनुभएको थियो । २०६४ सालमा एसियाली विकास बैङ्कले विस्तृत सम्भाव्यता अध्ययन ग¥यो । २०६६ मा नेपाली सेनाले आयोजना क्षेत्रमा ट्र्याक निर्माण सुरु गरी २०६९ मा पूरा ग¥यो । २०७२ मा आयोजना क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन पूरा भयो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त आयोजना निर्माण जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपछि द्रुतमार्ग निर्माणले गति लियो ।
विसं २०१२ मै निर्माण थालिएको काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकमार्ग, काठमाडौँ–बर्दीबास–बिपी राजमार्ग र काठमाडौँ–हेटौँडा जोड्ने सडक निर्माण अझै पूरा नहुँदा हालसम्मकै सबैभन्दा ठुलो परियोजना द्रुतमार्ग निर्माणमा सेनाले देखाएको तदारुकताले सबैमा आशा जगाएको छ । काठमाडौँ–मुग्लिङ–नारायणघाटदेखि हेटौँडासम्म २२७ किमि लामो सडक दुरीलाई यस द्रुतमार्गले केवल ७०.९७७ किमिमै सीमित बनाउँदा इन्धन र समयको ठुलो बचत मात्र नभई सुरक्षित र भरपर्दो यातायातका कारण आर्थिक तथा पर्यटन क्षेत्रमा मुलुकले ठुलो फड्को मार्ने अपेक्षा गरिएको छ ।
पूर्वाधार विज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापाले द्रुतमार्ग निर्माणले पूर्वाधार निर्माणमा मुलुककै आँखा खोलेको बताउनुहुन्छ । तराईसँग काठमाडौँ जोड्ने छोटो दुरीको द्रुतमार्गले वार्षिक झन्डै १२ अर्बको इन्धन बचत हुने बताउँदै उहाँले भन्नुभयो, “यो राष्ट्रिय गौरवको आयोजनाको लागत आठ/नौ वर्षमै असुल हुन्छ र मुलुककै ठुलो इन्धन आयात विस्थापन हुँदा अर्थतन्त्रमै ठुलो कायापलट हुन्छ ।” तीव्र रूपमा काम अगाडि बढे पनि हालसम्म आयोजना निर्माणमा झन्डै ८२ अर्ब खर्च भएको र अझै एक खर्ब ३१ अर्ब खर्च गर्नुपर्ने भए पनि वार्षिक बजेट २०/२२ अर्ब विनियोजन भइरहेकाले आयोजना समयमै पूरा हुने अवस्था भने नरहेको उहाँले बताउनुभयो ।
द्रुतमार्गको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर रहने छ । बाढीपहिरोले समेत कुनै असर नगर्ने गरी बनाइने यस द्रुतमार्गले नेपालको यातायात क्षेत्रमै ठुलो क्रान्ति ल्याउने विश्वास छ । नेपाल राष्ट्रिय यातायात व्यावसायी महासङ्घका महासचिव सरोज सिटौलाले द्रुतमार्ग निर्माणबाट यातायात क्षेत्रमा ठुलो आशा जगाएको बताउनुभयो ।
सडक पूर्वाधारका कारण यातायात व्यवसायीले इन्धनमा ठुलो रकम खर्च गर्नु परेको बताउँदै उहाँले भन्नुभयो, “द्रुतमार्ग बनेपछि ढुवानी र यातायात सहजताले मुलुककै सम्भावनाको ढोका खोल्छ भन्नेमा हामी आशावादी र उत्साहित छौँ ।” आयोजना अन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण भइरहेको छ । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाबिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरमाथि चार लेनका पुल तयार भइसकेका छन् । थप लागत बढेन भने यो द्रुतमार्ग दुई खर्ब ११ अर्ब ९३ करोड लागतमा निर्माण सम्पन्न हुने छ ।