• ७ जेठ २०८१, सोमबार

वनेमलाई कारबाहीको सिफारिस, शङ्खर निष्कासित

blog

कारबाही सिफारिस गरिएका विजयप्रकाश वनेम र निष्कासित गङ्गाराम शङ्खर। फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ३२ गते। नेकपा (माओवादी केन्द्र) ले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमलाई कारबाहीको सिफारिस गरेको छ। पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएकोभन्दै १ नम्बर प्रदेश समितिले केन्द्रीय समितिसमक्ष वनेमलाई कारबाहीको सिफारिस गरेको हो।

माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै वनेमलाई प्रदेश समितिको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी आवश्यक छानविन र कारबाहीको लागि सिफारिस गरेको हो।

 प्रदेश समितिले गत असार ३ गते सोधेको स्पष्टीकरणको जवाफ वनेमले ५ गते बुझाएको भए पनि चित्तबुझ्दो नभएकोले आवश्यक कारबाहीका लागि सिफारिस गरिएको प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

 माओवादी केन्द्र प्रदेश समितिका सचिवालय सदस्यसमेत रहेका वनेमले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग गर्न दिइएको उम्मेदवार मनोनयनपत्र (टिकट) को दुरुपयोग गरी पार्टीलाई ठूलो क्षति पुर्‍याएकाले कारबाहीको सिफारिस गरिएको जनाइएको छ। जिल्ला समन्वय समिति चयनका क्रममा पार्टीको निर्णय विपरीत वनेमले आफू प्रस्तावक रही माओवादी केन्द्र फुङ्लिङ नगर समितिका अध्यक्ष गङ्गाराम शङ्खरलाई प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो। 

पार्टीको निर्णयविरुद्ध जिल्ला समन्वय समिति प्रमुख पदमा शङ्खरलाई उम्मेदवारी दर्ता गर्न लगाएर पार्टीलाई गम्भीर क्षति पु¥याएकाले कारबाहीका लागि सिफारिस गरिएको माओवादी केन्द्रको १ नम्बर प्रदेश समितिले जनाएको छ। 

यता पार्टीका फुङ्लिङ नगरसमिति अध्यक्ष तथा नगर कार्यपालिका सदस्य शङ्खरलाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको प्रदेश समितिले जनाएको छ।

प्रदेश समितिले जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक विष्णुकुमार हाङ्बाङ र नगर समिति इन्चार्ज बमबहादुर भट्टराई (तारा) लाई पत्र पठाउँदै शङ्खरलाई निष्कासित गरेको जानकारी गराएको छ। 

वर्तमान सत्ता गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सहभागी भएको माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको प्रमुख पद आफ्नो भागमा परेको थियो। माओवादीका आधिकारिक उम्मेदवारले मनोनयन दर्ता गर्न नपाएपछि गठबन्धन साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष छिरिङ लामा जिल्ला समन्वय समितिको प्रमुख बन्नुभएको छ।