• १३ साउन २०८१, आइतबार

करार कर्मचारीद्वारा गाउँपालिकामा तोडफोड

blog

पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिदै गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्का । तस्बिर : कमल शर्मा

कमल शर्मा

गुराँसे, असार ३२ गते । गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड भएको हो । 

गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित कर्मचारीहरुले शुक्रवार दिउँसो १ बजेदेखि शान्तिपूर्ण आन्दोलन थालेका थिए । एक्कासि गाउँपालिकाका निवर्तमान अध्यक्ष र नेपाली कांग्रेसका पूर्व पार्टी जिल्ला सभापति कृष्णकुमार बिसीलगायत कांग्रेसका नेताहरुले आन्दोलनमा सहभागी हुँदा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो । 

प्रहरीले चलाएको गोली लागेर तीन जना कर्मचारी घाइते भएका छन ।  घाइते हुनेमा गुराँस गाउँपालिका १ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर साहले आन्दोलनरत कर्मचारी र अन्यहरुले गाउँपालिकाको कार्यालय र प्रहरी माथि नै ढुंगामुडा गरेपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न गोली चलाएको बताउनुभयो । 

गाउँपालिकाले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो । 

गाउँपालिकाको कार्यालय तोडफोेड गरेपछि शनिवार गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै करार कर्मचारीको आन्दोलनमा पार्टीको नेताहरुले उचालेर गाउँपालिका तोडफोड गर्न लगाइएको आरोप लगाउनुभयो । उहाँले ५४ लाख मात्रै राजस्व सङ्कलन हुने र एक वर्षमा तीन करोड ८६ लाख बजेट तलबभत्तामा मात्र खर्च हुने भएपछि पालिकाले त्यसको ब्यबस्थापनका लागि करार कर्मचारीको करार सम्झौता नविकरण नगर्ने भनेको थियो ।

त्यसलाई राजनैतिक ढङ्गबाट हेरेर आफुहरुमाथि सांघातिक हमला भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नौ जना कार्यालय सहयोगी नियुक्त गरिएकोमा एक जनाले मात्रै काम गर्दैआइरहेका छन् । कार्यालय सहयोगीको नियुक्ति पाएकाहरुले नासु अधिकृतको परिचयपत्र बोकेर हिँडने गरेका छन ।” 

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालामाथि समेत आक्रमण भएको बताउँदै बीसीले आफू सबैको जनप्रतिनिधिको रुपमा काम गर्न लागेको बताउनुभयो । उहाँका अनुसार सेवाग्राही कार्यालय, स्तनपान कक्षा, दर्ता चलानी, लेखा शाखा, सभाहलमा तोडफोड भएको छ । कार्यपालिकाको बैठक राखेर प्रक्रियाअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।