• १० मंसिर २०८१, सोमबार

निगुरोमा जीवन देख्दै पूर्वी मोरङका सयौं परिवार

blog

काठमाडौं, असार ३२ गते । पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्राेत बनेको छ ।

सामुदायिक वनमा पाइने निगुरोबाट सयौं परिवारले रोजगारी पाएका छन् भने उनीहरुको दैनिक जीवन गुजारा हुने गरेको छ । निगुरोको सिजन भएकोले पनि निगुरो टिप्नका लागि बिहानैदेखि मोरङका सामुदायिक जङ्गलमा जाने मानिसहरुको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।

परिवार चलाउन तरकारी व्यापारीहरु निगुरो टिप्नका लागि टाढा–टाढाबाट सामुदायिक जङ्गलमा जाने गर्छन् । पूर्वी मोरङका जङ्गलमा झिस्मिसेमै डोको बोकेर पस्नेको ठूलो सङ्ख्या देख्न सकिन्छ ।

चैत महिनादेखि कात्तिकसम्म निगुरो पाइने सिजनलाई केन्द्रित गरेर उनीहरु वर्ष दिनको आफ्नो गुजारा चलाउन जङ्गल धाउँछन् । झिस्मिसेमै जङ्गल पसेका मानिसहरुले करिब ११ बजेसम्म डोकोभरी निगुरो बोकेर निस्कन्छन् ।

सिरहा, सप्तरीदेखि झापाको काँकडभित्तासम्मका व्यापारीहरु निगुरो टिप्न आउने गरेका छन् । पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायतका सामुदायिक वनमा प्राकृतिक निगुरो पाइन्छ । यही निगुरोका कारण कतिपयको दैनिक गुजारा चल्ने गरेको छ ।

स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले हजारौं मानिसलाई रोजगारी दिएको छ । लकडाउन अघि काठमाडौंसम्मका व्यापारी आएर निगुरो लैजाने गरेको स्थानीय व्यापारीहरु बताउछन् ।

गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प भएको उनीहरुको भनाइ छ । यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादन कम भएकाे निगुरो व्यापारी जितेन्द्र चौधरी बताउनुहुन्छ । करिब २० वर्ष अघिदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गरी धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगरे बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

यसैगरी, अर्का निगुरो व्यापारी कौशिला माझी निगुरो बेचेरै आफ्नो दैनिक गुजारा चलिरहेको बताउनुहुन्छ ।

पथरी शनिश्चरे, लेटाङ, बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक ३÷४ सय मानिसले निगुरो टिप्दै आएका छन् । धेरै मुजदुरले दैनिक निगुरो बेचेरै परिवार चलाउने गरेका छन् ।

यो क्षेत्रमा सय हाराहारी ठेकेदारले दैनिक ठूलो सङ्ख्यामा निगुरो सङ्कलन गरी विभिन्न बजारमा बिक्री गर्ने गरेका उहाँले बताउनुभयो ।

दैनिक एक जनाले ३० देखि ७० मुठासम्म निगुरो टिप्ने गरेको उनीहरुको भनाइ छ । निगुरो टिप्ने एकजनाले दैनिक ४ सयदेखि ६ सय रुपियाँसम्म त कसैले दुई हजार रुपियाँसम्म कमाउने गरेको उहाँहरु बताउनुहुन्छ ।

निगुरो टिप्न विद्यालय तहमा पढ्ने बालबालिकादेखि कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । निगुरो टिप्नेमा बालबालिका र स्कुले विद्यार्थी मात्र हुँदैनन् ।

लकडाउनअघि पथरी शनिश्चरे, लेटाङ, बेलबारी क्षेत्रबाट दैनिक पाँच गाडी निगुरो काठमाडौं आउने गरेको थियो । पूर्वी मोरङमा पाइने अर्गानिक तरकारी निगुरोलाई ‘ब्राण्डिङ’ गर्न सके प्रदेशकै आम्दानीको स्रोत बन्नसक्ने प्रचुर सम्भावना रहेको निगुरो व्यापारी माझीको भनाइ छ ।