• २१ माघ २०८२, बुधबार

नेकपाकाले गर्‍यो गाँजा खेतीको विकल्पदेखि उद्योग सञ्चालन गर्नेसम्मको योजना सार्वजनिक

blog

पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार रहनुभएका नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेल । तस्बिर :सन्तोष सुवेदी,

सन्तोष सुवेदी 

पाख्रीबास, (धनकुटा) माघ २१ गते । नेपाली कम्युनिस्ट पार्टी, धनकुटाले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा गाँजा खेतीको विकल्पदेखि उद्योग सञ्चालनसम्मका योजना सार्वजनिक गरेको छ ।

 बुधबार नेपाली कम्युनिस्ट पार्टी, धनकुटाले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

आसन्न हुन लागेको प्रतिनिधि सभाका उम्मेदवार रहनुभएका नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेलले आफ्नो पार्टीको २० बुँदे चुनावी प्रतिबद्धता पत्र बढेर सार्वजनिक गर्नुभएको थियो ।

 पत्रमा सामुदायिक विद्यालय गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासमा जोड, सार्वजनिक, सहकारी र निजी अस्पतालहरूको स्तरोन्नतिका लागि पहल, एक पालिका एक खेल मैदान र कभर्ड हल, औद्योगिक ग्राम स्थापना र सञ्चालनमा सहयोग, सडक सञ्जाललाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नति, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपका कारण जोखिममा रहेका बस्तीहरूको सुरक्षित व्यवस्थापन, माटो परीक्षणदेखि उन्नत खेती प्रविधि प्रयोगशाला, शीतभण्डार, कुलचेनयुक्त ढुवानी साधनहरूको उपयोग गर्न सहजीकरण, कृषि तथा फलफूल उत्पादन क्षेत्रमा कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्न भिन्नाभिन्नै स्रोत केन्द्र, प्रशोधन केन्द्रहरू र वितरण केन्द्रहरू स्थापना गर्न सहजीकरण गर्ने चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

 यस्तै कृषकको मागको आधारमा आवश्यक सिँचाइ योजनाहरू सञ्चालन, व्यवसायिक तथा उद्यमी कृषकहरूलाई सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था गर्ने, उद्योग स्थापना र पर्यटन प्रवर्धन, गैरकानुनी गाँजा खेतीको विकल्प साथै दिगो र बढि आय दिने किसिमका अन्य कृषिजन्य उत्पादनतर्फ जोड दिने, शहिद परिवार, बेपत्ता र घाइतेहरूको सन्दर्भमा उचित योजना, कार्यक्रम बनाई कार्यान्वयनमा समन्वय गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै स्वरोजगारीको व्यवस्थापन गर्ने, स्वच्छ खानेपानी योजना निर्माण र कार्यान्वयन गर्न पहल, धनकुटाको ऐतिहासिक टुँडिखेलको स्तरोन्नति गरी मिनी स्टेडियम बनाउने, धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलहरूलाई पर्यटन प्रवर्धन योजना निर्माण गर्न, पर्यावरणीय पर्यटन, कृषि पर्यटन, साहसिक खेल पर्यटन, सांस्कृतिक पर्यटन, होम स्टे आदि प्रवर्धनको विकास र विस्तारमा पहल, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय र पिछडिएका वर्गको समान सहभागिता गरी दक्ष जनशक्तिमा रूपान्तरण र सङ्घीय तथा प्रदेश सरकारबाट विनियोजन हुने योजना, कार्यक्रम तथा बजेट आवश्यकताका आधारमा धनकुटा जिल्लाभित्रका लागि स्वीकृत र कार्यान्वयन गर्ने क्रममा अधिकतम योजनाहरूमा विनियोजन गर्न पहल, समन्वय वा सहजीकरण लगायतका चुनावी प्रतिबद्धता पत्र रहेका छन् ।

यस्तै सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वय र सहकार्यबाट जिल्लालाई प्राप्त कार्यक्रम जनमुखी बनाउन प्रयत्न गर्ने तथा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूसँग आवश्यक समन्वय गरी समग्र जिल्लाको विकासका लागि विभिन्न कार्यहरू गर्ने गराउने उम्मेदवार पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।