• २१ माघ २०८२, बुधबार

गुल्मीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ २१ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गुल्मीमा आचारसंहिता सम्बन्धी छलफल तीव्र रुपमा अगाडी बढाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न राजनीतिक दल, उम्मेदवार, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा सञ्चारकर्मीहरुसँग आचारसंहिता सम्बन्धी छलफल गर्दै आएको हो। 

यस जिल्लामा आचारसंहिताको पूर्णरुपमा पालना गर्नका लागि सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया समेत गरिएको छ। आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सबैले जोड दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको छलफलमा जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले सम्बन्धित सबैले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विभिन्न प्रावधानबारे जानकारी गराउनुभयो। 

उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवालाले आचारसंहिताको पूर्ण पालना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी भइरहेको बताउनुभयो। निर्वाचन सुरक्षा योजना निर्माण, आवश्यक जनशक्तिको व्यवस्था, मतदान केन्द्रहरुको निरीक्षण, स्थानीय तहका पदाधिकारीसँग साक्षात्कारलगायतका कार्यहरु सम्पन्न भइसकेका बताउनुभयो। 

निर्वाचन आचारसंहिता पालनामा सबैको सहकार्य आवश्यक रहेको भन्दै सरोकारवाला सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो। राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला सबै निकायले आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आग्रह गर्नुभयो। सहभागी सबैले आचारसंहिता पूर्ण रुपमा पालना गर्नेबारे सहमति जनाउनुभयो। 

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो। उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता रहेका छन्। १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ। 

निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना मतदाता रहेका छन्। जसमा महिला ६२ हजार २७२ जना र पुरुष ५९ हजार ९१४ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन्। जसमा महिला ५२ हजार ९३८ जना, पुरुष ५४ हजार ४२३ जना र अन्य दुई जना मतदाता रहेका छन्। यस क्षेत्रमा ६२ मतदान स्थल र १२९ मतदान केन्द्र कायम गरिएको छ।