• २१ माघ २०८२, बुधबार

स्वतन्त्र उम्मेदवारीले दलहरू दबाबमा

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनको स्वतन्त्र उम्मेदवारीले म्याग्दीको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ । साङ्गठनिक रूपमा बलिया नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा जस्ता ठुला दललाई चुनौती दिँदै पुनको उम्मेदवारीले परम्परागत भोट बैङ्क भत्किन सक्ने आकलन गरिएको छ । यस पटकको निर्वाचनमा चार मुख्य उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

साङ्गठनिक रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी बलियो भए पनि पुनको स्वतन्त्र उम्मेदवारीले ती दलमा चुनौती थपिएको छ । स्वतन्त्र र विभिन्न राजनीतिक दल गरी जिल्लामा ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मुख्य गरी चार जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

स्वतन्त्र उम्मेदवार पुनको अन्नपूर्ण गाउँपालिका–८, नाङ्गी पुख्र्यौली थलो हो । दुई दशकभन्दा अघि डा. पुनले नाङ्गी, हिस्तान, पाउद्वारलगायतका बस्तीमा ताररहित इन्टरनेट सञ्जाल विस्तार गरेकाले यस क्षेत्रमा उहाँ लोकप्रिय हुनुहुन्छ । डा. पुनलाई निर्वाचनमा मगर समुदायको सहानुभूतिको मत प्राप्त हुने देखिएको छ । विसं २०७९ को निर्वाचनमा कांग्रेस–नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनसँग तीन हजार ८३२ मतले पराजित भएका नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केबी) लाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । अघिल्लो निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) २४ हजार २१ मत प्राप्त गरी विजयी हुनुभएको थियो । नेकपाका तर्फबाट युवानेता अर्जुन थापा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । 

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादी पनि अहिलेको प्रतिस्पर्धामा छ । जिल्लामा ११ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य गरी कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार डा. पुनबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा डा. पुनको स्वतन्त्र उम्मेदवारीले दलहरूको परम्परागत भोट बैङ्क भत्काइदिन सक्ने आकलन गरिएको छ । पुराना राजनीतिक दल कांग्रेस, एमाले र नेकपालाई यसपालि जित निकाल्न स्वतन्त्र उम्मेदवारीले चुनौती थपिदिएको छ । 

विसं २०७९ को निर्वाचनमा एमालेले पाएको समानुपातिकतर्फको मत हेर्दा जिल्लामा पहिलो शक्ति देखिन्छ । त्यस्तै कांग्रेस दोस्रो र हालको नेपाली कम्युनिस्ट पार्टी तेस्रो देखिन्छ । रास्वपा चौथो दल बनेको थियो । रास्वपाले यस पटक स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि पछिल्लो समय कुरा मिल्न नसकेपछि मत माग्न थालेको छ । एमालेले १८ हजार २७३, कांग्रेसले एक लाख ३६ हजार ९३, हालको नेकपा तत्कालीन माओवादीले नौ हजार ७०, रास्वपाले तीन हजार ५७९ मत प्राप्त गरेका थिए । विसं २०७४ को निर्वाचनमा एमालेले माओवादीसँगको चुनावी गठबन्धन गर्दा प्रत्यक्षतर्फ २३ हजार ३०८ मत प्राप्त गरेर एमालेका उम्मेदवार भूपेन्द्रबहादुर थापा विजयी हुनुभएको थियो भने कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर) ले दुई लाख ९८० मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ एमालेले १८ हजार २६६, कांग्रेसले १७ हजार ३४८, माओवादीले चार हजार ३०३ मत प्राप्त गरेका थिए । राजनीतिक दलको साङ्गठनिक अवस्था र अघिल्ला निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा भने स्वतन्त्रलाई पनि जित निकाल्न कठिन हुने बताइन्छ । 

यतिखेर उम्मेदवार मतदातासँग भेटघाट र घरदैलो गर्न गाउँ पसेका छन् । गाउँ पुगेका उम्मेदवारसँग मतदाताले देशमा सुशासन कायम, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण जस्ता विषय मुख्य रूपमा उठाएका छन् । एमाले, कांग्रेस, नेकपा र स्वतन्त्र उम्मेदवारबाहेक चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देवेन्द्र कामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट विनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेसनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ ।