बनेपा समाचारदाता
बनेपा, माघ २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काभ्रेपलाञ्चोक जिल्लामा चुनावी सरगर्मी बढेको छ । फागुन २१ गते हुने निर्वाचनमा काभ्रेपलाञ्चोक–१ मा विशेष गरी चार राजनीतिक दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसले क्षेत्र नं. १ मा ४० वर्षीय जिल्ला सचिव गुणराज मुक्तान, नेकपा (एमाले) ले ४४ वर्षीय केन्द्रीय सदस्य अमि (अमित) लामा, नेपाली कम्युनिस्ट पार्टीले ६२ वर्षीय चौँरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष दीनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ वर्षीय अधिवक्ता मधुकुमार चौलागाईंलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं. १ मा सङ्गठनात्मक रूपमा विशेष गरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले) काभ्रेपलाञ्चोकका उपाध्यक्ष देवसागर लामाले युवाका भावना समेट्न पार्टीले युवालाई नै उम्मेदवार बनाएको बताउनुभयो । यस पटक निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउने गरी पार्टी चुनावी अभियानमा लागेको उहाँको भनाइ थियो । विगतमा चार निर्वाचन क्षेत्र हुँदा हालको निर्वाचन क्षेत्रमा दुई निर्वाचन क्षेत्र थियो भने २०५६ को निर्वाचनमा एमालेले दुवै क्षेत्रमा जित हासिल गरेको थियो ।
त्यसपछिका निर्वाचनमा जित हासिल गर्न नसकेको एमाले यस पटक यो क्षेत्रमा जित निकाल्ने दाउमा छ । यस पटक क्षेत्र नं. १ मा आफ्नो उम्मेदवारलाई जिताएर बर्सौंपछि नयाँ रेकर्ड राख्ने गरी चुनावी अभियानमा जुटेको कांग्रेसका जिल्ला सभापति तीर्थ लामाले बताउनुभयो ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सूर्यमान दोङ विजयी हुनुभएको थियो । यस पटक पनि नेपाली कम्युनिस्ट पार्टी आफ्नो उम्मेदवार विजयी गराउन चुनावी अभियानमा लागेको पार्टीका जिल्ला संयोजक भोला अर्यालले बताउनुभयो । पार्टीका तर्फबाट उम्मेदवार बनेका गौतमलाई विजयी गराउन पार्टीभित्र आन्तरिक छलफल तथा बैठक भइरहेको उहाँले बताउनुभयो । विशेष गरी क्षेत्र नं. १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि पछिल्ला दिनमा पार्टीप्रति देखिएको आकर्षणलाई निर्वाचनमार्फत प्रमाणित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीसमेत चुनावी प्रतिस्पर्धामा देखिएको छ । रास्वपाका जिल्ला सभापति प्रवीण ढकालले पार्टीका तर्फबाट उम्मेदवार बनेका चौलागाईं चुनावी परिणाम आफ्नो पक्षमा पार्न लाग्नुभएको बताउनुभयो ।
उम्मेदवार छनोटको विषयमा पार्टीभित्र अन्तर्विरोध देखिएको र सबै दलमा केही असन्तुष्टि रहेकाले सबै राजनीतिक दलका उम्मेदवार असन्तुष्ट पक्षलाई आफूतर्फ आकर्षित गरी चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । विसं २०७९ को समानुपातिकतर्फको मत हेर्दा क्षेत्र नं. १ मा नेकपा (एमाले) ले २४ हजार ७९, नेपाली कांग्रेसले २१ हजार ७५५, नेकपा (माओवादी केन्द्र) ले १७ हजार ३३५ ल्याएको थियो । यस्तै यो क्षेत्रमा एकीकृत समाजवादीले एक हजार ९५५ र राष्ट्रिय स्वतन्त्र पार्टीले नौ हजार ७९४ मत ल्याएको थियो ।