• २१ माघ २०८२, बुधबार

कोशी पश्चिमी नहरको सडक बन्ने

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), माघ २१ गते  ।  बर्सौंदेखि सुक्खामा धुलो र बर्सातमा हिलो सहन बाध्य पश्चिमी कोशी नहर क्षेत्रका बासिन्दा अब त्यस्तो समस्याबाट मुक्त हुने भएका छन् । बर्साैंदेखि जीर्ण रहेको कोशी पश्चिमी नहरको बाटो मर्मतसम्भार गरी सञ्चालनमा आउने भएपछि त्यस क्षेत्रका बासिन्दा धुलो र हिलोबाट मुक्त हुने भएका हुन् ।

समाजवादी पार्टीका युवा नेता तथा पूर्वप्रदेश सभा सदस्य विदेश्वर यादव ‘बिक्की’ ले उक्त सडक निर्माणका लागि निकै सक्रियता देखाउनुभएको थियो । उहाँको सव्रिmयतापछि भारतको विहार सरकार जलसंसाधन विभागले नेपालमा रहेको कोशी पश्चिमी नहर बनाउन मेघा इन्जिनियरिङ इन्फास्ट्रक्चरसँग सम्झौता गरेको छ । करिब ३४ अर्ब ८४ करोड २३ लाख ९० हजार भारतीय रुपियाँको लागतमा बाटोसहित कोशी पश्चिम नहरसमेतको मर्मतसम्भारका लागि विहार सरकारले सम्झौता गरेको हो ।

सप्तकोशी नदी हुँदै बग्दै गरेको यो नहरको डिलको बाटो सडकका रूपमा प्रयोग गरिँदै आएकोमा लामो समयदेखि जीर्ण हुँदा आवतजावतमा कठिनाइ हुँदै आएको थियो । आमसर्वसाधारणले भोग्दै आएको कठिनाइलाई दृष्टिगत गर्दै पूर्वसांसद यादवले बाटो निर्माणलाई अगाडि बढाउन सक्रियता देखाउनुभएको हो । 

कोशी सम्झौता अनुसार यो बाटो निर्माण गर्ने जिम्मा भारतीय सरकारको हो । भारत सरकारले यसतर्फ ध्यान नदिएपछि सांसद यादव विहारको राजधानी पटना पुगेर भारतीय नेता तथा अधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले भारतीय संसद् अन्तर्गत तत्कालीन जलसंसाधन विभागका अध्यक्ष एवं केन्द्रीय सांसद सञ्जय जयसवाल, विहारका तत्कालीन उपमुख्यमन्त्री रेणुदेवीसहितसँग भेट गर्दै नहरको बाटो अविलम्ब बनाइदिन ध्यानाकर्षण गराउनुभएको थियो ।

पूर्वप्रदेश सभा सदस्य यादवले चार वर्षअगाडिदेखि नै भारतीय नेता तथा अधिकारीलाई ध्यानाकर्षण गराउँदै पश्चिमी नहर बनाउन नेपालस्थित भारतीय दूतावाससमेतलाई २०७९ सालमै पत्राचार गर्नुभएको थियो ।