कच्चा पदार्थ नपाउँदा नेपाली उद्योग सङ्कटमा
शशिधर पराजुली
विराटनगर, माघ २१ गते । नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्र सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग अहिले गम्भीर सङ्कटमा परेका छन् । कच्चा जुटको प्रमुख स्रोतका रूपमा रहेको बङ्गलादेशले कच्चा जुट निर्यातमा कडाइ गरेपछि नेपाली उद्योग धराशायी बन्ने अवस्था उत्पन्न भएको हो ।
गत सेप्टेम्बरदेखि बङ्गलादेशले कच्चा जुट निर्यातलाई ससर्त (कन्डिसनल) बनाएपछि नेपाली उद्योगीले आवश्यकता अनुसार कच्चा पदार्थ आयात गर्न सकेका छैनन् । बङ्गलादेशभित्रै कच्चा जुट बाहिर पठाउनु हुँदैन भन्ने तीव्र विरोध र आन्तरिक मागका कारण निर्यात प्रक्रिया झन्झटिलो बनाइएको छ । यसले गर्दा पाँच महिनादेखि नेपाली जुट मिलले कच्चा पदार्थको चर्को अभाव झेल्दै आएको उद्योग सङ्गठन मोरङका कार्यकारी निर्देशक चुडामणि रेग्मीले जानकारी दिनुभयो ।
बङ्गलादेशले निर्यातमा नियन्त्रण गर्न थालेको र भारतबाट कच्चा जुट ठुलो परिमाणमा ल्याउन सक्ने अवस्था नरहेका कारण यहाँका उद्योगले कच्चा जुटको अभाव झेल्दै आइरहेका छन् । जुट उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बङ्गलादेशले कन्डिसनल कन्ट्रोल गरेको भने पनि पूर्ण रूपमा निर्यात बन्द गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ससर्त निर्यात गरिरहेको छैन पूरा बन्द छ । हामीसँग भएको कच्चा पदार्थले अहिले उद्योग चलिरहेका छन्, सकिएपछि बन्द हुन्छ ।” उहाँले यस विषयमा पहल गर्ने कुनै ठाउँ नभेटेको र अहिलेको सरकारले पहल गरेर यी समस्या समाधान हुनेमा उद्योगी विश्वस्त नरहेको पनि उहाँले बताउनुभयो ।
यहाँका जुट उद्योगलाई वार्षिक रूपमा करिब ६५ हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्छ । यसमध्ये करिब ६५ प्रतिशत कच्चा जुट बङ्गलादेशबाट र करिब २० प्रतिशत भारतबाट आयात गरिन्छ । आन्तरिक उत्पादनले कुल मागको करिब १५ प्रतिशत मात्र धान्ने गरेको छ ।
नेपालमा हाल पाँच वटा ठुला जुट उद्योग सञ्चालनमा छन्, जहाँ झन्डै १२ हजार श्रमिक प्रत्यक्ष रूपमा कार्यरत छन् । कच्चा पदार्थको आयात सहज नभएमा यी हजारौँ श्रमिकको रोजगारी जोखिममा पर्ने देखिएको छ ।
कच्चा जुट आयातका लागि मात्रै वार्षिक सात अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिने गरेको छ । यद्यपि आयातित कच्चा पदार्थबाट तयारी वस्तु बनाएर भारततर्फ सात अर्ब रुपियाँभन्दा बढीकै निर्यात हुने गरे पनि कच्चा पदार्थमै छिमेकी मुलुकको भर पर्नु पर्दा नेपाली उद्योग सधैँ जोखिममा रहने गरेका छन् ।
घट्दो आन्तरिक उत्पादन
कुनै समय नेपाल जुट उत्पादनमा आत्मनिर्भर मात्र थिएन, निर्यातसमेत गर्दथ्यो । विसं १९९३ मा मुलुककै पहिलो उद्योग ‘विराटनगर जुट मिल’ स्थापना भएपछि सुरु भएको जुट खेतीले कुनै बेला ४० हजार मेट्रिक टनसम्म उत्पादनको इतिहास रचेको थियो । अहिले त्यो उत्पादन घटेर वार्षिक सातदेखि नौ हजार मेट्रिक टनमा खुम्चिएको छ ।
विसं २०४१ मा जुट विकास संस्था बन्द भएपछि किसानले मल, बिउ र प्राविधिक सहयोग पाउन छाडे । जुट कुहाउने खाडलको अभाव, मजदुरको कमी र उत्पादन लागत अनुसारको उचित मूल्य नपाउँदा किसान बिस्तारै यो खेतीबाट टाढिँदै गए ।
हाल बङ्गलादेशबाट हुने आयातमा देखिएको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न आवश्यक देखिएको छ । केही समययता उद्योग सङ्गठन मोरङको सङ्गठित पहलमा समस्या समाधानको उपाय खोजी गरिरहेको भए पनि सरकारको कूटनीतिक प्रयासबिना समस्या समाधान हुने अवस्था छैन । बङ्गलादेशमा रोजगारी बढाउन र तयारी वस्तु निर्यात गर्न तीव्र दबाब बढिरहेको यहाँका व्यवसायीले बताएका छन् ।
एकातिर बङ्गलादेशको ‘कन्डिस्नल’ निर्यात र अर्कोतिर भारतले बेला बेला लगाउने एन्टी–डम्पिङ ड्युटी लगाएर दुःख दिने गरेका कारण नेपाली जुट उद्योग चेपुवामा परेका छन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन नगर्ने र आयातमा मात्र भर पर्ने नीतिका कारण अहिले यो ऐतिहासिक उद्योग नै धराशायी हुने स्थितिमा पुगेको हो ।