• २१ माघ २०८२, बुधबार

नगरपालिकामा स्वास्थ्य र पोषणको अवस्था नाजुक

blog

भजनी नगरपालिकाको प्रशासकीय भवन । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना 

टीकापुर, माघ २० गते । कैलालीको भजनी नगरपालिकामा शिक्षा, स्वास्थ्य र पोषणको अवस्था नाजुक देखिएको छ । नगरपालिकाको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो । 

भजनी नगरपालिकामा ३५ प्रतिशत प्रजनन उमेरका महिलामा रक्तअल्पता छ । जसका कारण वर्षेनी नौ प्रतिशतभन्दा बढी बालबालिकाहरू कम तौलको जन्मिरहेका छन् । ‘यस वर्ष दुई हजार ४२५ बच्चाको सर्भे गर्दा २१ बालबालिका एकदमै कुपोषित भएको र १८१ बालबालिका कुपोषित अवस्थामा रहेको पत्ता लागेको छ’ जनस्वास्थ्य निरीक्षक कैलाश डगौरा थारुले भन्नुभयो ।

नगरपालिकाले स्वास्थ्य संस्थाहरूमा जनशक्ति व्यवस्थापनमा ठुलो रकम खर्च गरे पनि बालबालिका, किशोरी, गर्भवतीलाई लक्षित गरेर वर्षमा पाँच लाख रुपियाँ मात्रै बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख ऋजु चुकाहाका अनुसार यो नगरपालिका जिल्लामा सबैभन्दा बढी जन्मजात अपाङ्गता भएको पालिका हो । 

५३ हजार जनसङ्ख्या भएको भजनी नगरपालिकामा ९७६ जना परिचयपत्र प्राप्त अपाङ्गता भएका व्यक्ति रहेकोमा त्यसमध्ये करिब ५०० जति १८ वर्ष मूनिका छन् । ‘३०० जति बालबालिका विद्यालय जान्छन् बाँकी घरै बस्छन्’ चुकाहाले भन्नुभयो, ‘विद्यालय आएका बालबालिकाका लागि समावेशी शिक्षा दिन सकेको छैनौ, समुदायमा पनि वैकल्पिक सिकाइ केन्द्र नभएकाले बालबालिकाको सिकाइ न्यून छ ।’ 

यहाँ अपाङ्गतासहित ८ प्रतिशत बालबालिका अझै पनि विद्यालय बाहिर छन् । बालबालिकामा कुपोषण, रक्तअल्पता, अपाङ्गता, अभिभावकमा गरिबी र शिक्षामा लगानी कम हुँदा शिक्षाको गुणस्तर पनि कमजोर भएको जानकार बताउँछन् । ‘गत वर्ष कक्षा ५ को परीक्षामा ६४ प्रतिशत, कक्षा आठमा ५६ प्रतिशत र कक्षा १० मा पुग्दा १४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्’ शिक्षा अधिकृत पङ्खबहादुर शाह भन्नुहुन्छ, ‘नगरपालिकामा ११ वटा माविमा जम्मा सात जना शिक्षकको मात्रै दरबन्दी छ ।’ 

शिक्षक पदम शाही पालिकाको तल्लो तहमा शिक्षकको कमी नभएको, विषयगत शिक्षक दरबन्दी मिलान र नक्साङकन गरी अभिभावक शिक्षा लागू गरेर शिक्षा सुधार गर्न सकिने सुझाव दिनुहुन्छ । 

नगर प्रमुख केवल चौधरीले विद्यालयमा बालबालिका पढ्ने वातावरण बनोस् भनेर निःशुल्क शिक्षा लगायत धेरै लगानी गरे पनि नतिजा सुधार नभएकोमा आफू चिन्तित भएको बताउनुभयो ।