टोकियो, माघ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले जापानका प्रधानमन्त्री सनाय तकाइचीसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिको सम्बन्ध अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनु भएको छ । उहाँले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनायले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
“हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबिचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव हामीबिच स्थापित द्विपक्षीय सम्बन्धको एक कोसेढुङ्गा हो भन्दै उहाँले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताउनुभयो ।

नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताउनुभयो । “यसका लागि नेपालले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका क्षेत्रमा गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको उहाँको भनाइ थियो ।

“नेपाल अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा जापानबाट सदाझैँ सहयोग र सद्भाव प्राप्त हुने नै छ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । विश्व शान्ति, स्थायित्व र भाइचाराजस्ता बुद्धको दर्शनमा विश्वास गर्ने दुवै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले दुवै देशका जनताबिच बलियो पुलको काम गरेको उहाँको भनाइ थियो । उहाँले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानका लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । जापानका प्रधानमन्त्री सनायले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताउनुभयो ।
उहाँले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सम्पर्क र जापानी नागरिकले नेपालका हिमालहरू चढ्ने गरेको जस्ता कारणले दुई देशबिचको सम्बन्ध प्रगाढ हुँदै गएको बताउनुभयो ।
प्रधानमन्त्री सनायले नेपाल–जापान कूटनीतिक सम्बन्धका अवसरमा दुवै देशबिचको सम्बन्ध झन् प्रगाढ होस् भन्दै जापानले नेपालको सूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभएको थियो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो ।
उहाँले यसअघि सोमबार जापानका व्यापारिक समुदायका सदस्यसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शिष्टाचार भेट गर्नुभएको थियो । जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गर्नुभयो । साथै, उहाँले यहाँस्थित नेपाली राजदूतावासको अवलोकन पनि गर्नुभयो ।
आजै उहाँले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभएको थियो । जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।