काठमाडौँ, माघ २० गते । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ मा आफ्नो पार्टीका उम्मेदवार मङ्गलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो अभियानका क्रममा उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यमा इन्जिनियर समेत रहनुभएका श्रेष्ठको जित सुनिश्चित रहेको बताएको हो।
श्रेष्ठले लामो समय इन्जिनियरिङ क्षेत्रमा योगदान पुर्याउनुभएको छ। उहाँले ३० वर्षभन्दा बढी समय इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा व्यतीत गर्नुभएको छ। श्रेष्ठले आफू सुशासन, समृद्धि, सामाजिक न्याय र दिगो विकासको एजेन्डासहित चुनावी मैदानमा होमिएको बताउनुभएको छ। “अहिले नेपाली राजनीतिले परिवर्तन खोजेको छ। योजना भएको युवा नेतृत्व अहिलेको आवश्यकता हो। म अरूको आलोचनाभन्दा पनि योजना बोकेर जनताको घरदैलोमा आएको छु। तपाईंहरूको अमूल्य मत पाउनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो।
उज्यालो नेपाल पार्टीले काठमाडौँ–१ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्दै जनताको विश्वास जित्ने दाबी गरेको छ।