• १३ साउन २०८१, आइतबार

झुपडीबाट पक्की घरको बास

blog

सिन्धुली समाचारदाता

दुधौली (सिन्धुली), असार ३२ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका मुसहर समुदायको १२२ वटा घर निर्माण भएको छ । सङ्घीय सरकारको ससर्त अनुदानमा घर निर्माण भएपछि वर्षौंदेखि झुपडीमा बस्दै आएका मुसहर समुदायका परिवार यतिखेर पक्की घरमा रमाएका छन् । 

आफ्नो जीवनको ७० वर्षसम्म फुसले छाएको छाप्रो (झुपडी)मा बिताउँदै आउनुभएका दुधौली नगरपालिका–११ निवासी ७२ वर्षीय काली सदामा यतिखेर खुसीको सीमा छैन । उहाँले भन्नुभयो, “जीवनको अन्तिम उमेरसम्म झुपडीमा बसियो । सधैँ घाम, पानी, चिसो र सर्पको त्रास हुन्थ्यो । अब कुनै पिरलो छैन ।”

उहाँका अनुसार सुरक्षित घरको अभावमा मुसहर समुदायमा जाडो मौसम सुरु भएपछि परिवारका सबै जना रातभरि आगो बालेर वरिपरि बसेर रात कटाउँदै आएका थिए । वृद्ध सदाले भन्नुभयो, “झुपडीमा बस्दा हुरीबतास, आगलागी र सर्पको त्रास खेप्दै आएका थियौँ । अब यो समस्याबाट मुक्ति पाएका छौँ ।”

दुईवटा ढोका, झ्याल उत्तिक्कै र जस्ताले छाएको पक्की दुई कोठे घर भए पनि आफ्ना लागि महल नै भएको उहाँले सुनाउनुभयो । उहाँका तीन छोरी त्यही छाप्रो घरबाट बिहाबारी भएर गए । जनता आवास कार्यक्रमअन्तर्गत यो वर्ष दुर्धौली नगरपालिकाको वडा नं. ६ मा ३२ घर, वडा नं. ७ मा ३३ घर, वडा नं. ८ मा २७ घर र वडा नं. ११ मा ३० घर गरी मुसहर समुदायको एकीकृत १२२ घर निर्माण भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । 

कार्यालयका अनुसार चालू आवमा ती घर निर्माण गर्न तीन करोड ६६ लाख ७७ हजार रुपियाँ खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष ०७५/७६ देखि जनता आवास कार्यक्रम सुरु भएको र हालसम्म ४९२ घर निर्माण भइसकेको छ ।

कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरे जनता आवास कार्यक्रमअन्तर्गत प्राथमिकतामा परेका डुम, दलित, लोपोन्मुख, सीमान्तकृत र अति विपन्न वर्गका समुदायका छनोट भएका र त्यस्ता लाभग्राहीको घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ ।

कार्यक्रमअन्तर्गत आवास निर्माणका लागि दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ मा गरी ५२५ र तीनपाटन गाउँपालिकामा ६३० जना लाभग्राही छनोट भएका छन् । तीनपाटन गाउँपालिकामा घर निर्माण गर्न बाँकी छ । दुधौली नगरपालिकामा अझै ३३ जना लाभग्राहीको आवास निर्माण गर्न बाँकी रहेको उहाँले सुनाउनुभयो ।

कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “एउटा घर निर्माणका लागि सङ्घीय सरकारबाट तीन लाख ३६ हजार रुपियाँ आउँछ । त्यसले पुगेन भने सम्बन्धित लाभग्राहीले श्रमदान गर्नुपर्ने हुन्छ ।” जनता आवास कार्यक्रम सङ्घीय सरकारले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेकाले बागमती प्रदेश सरकारले उक्त कार्यक्रम दिए मात्र आगामी आर्थिक वर्षमा सिन्धुली जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुने कार्यालयले जनाएको छ ।