• १० मंसिर २०८१, सोमबार

विभ्रम [कथा]

blog

मोटरसाइकलको गति अघिभन्दा स्वाट्टै घटे पनि मनभित्र विशृङ्खलित कुरा खेल्ने क्रम भने झन्झन् बढेर गएको थियो । ह्वात्तै बढेको मुटुको ढुकढुकी अझै सामान्य बन्न नसकिरहेकै अवस्थामा उसले एउटा निश्चय ग-यो– अब बढीमा घर पुग्नका लागि २० मिनेट समय लाग्नेछ । त्यसपछि हातमुख धोएर शुद्ध कपडा फेरेपछि यही बाटो हुँदै ऊ त्यही पीपलको फेदमा गएर दुवै हात जोड्दै क्षमायाचना गर्नेछ जहाँ एकैछिनअघि ऊ लडेको थियो । बूढो पीपलले माफी दिने कुरामा ऊ जति आशावादी थियो, त्योभन्दा बढी आफू श्रापित भएकोमा विश्वस्त पनि । यो झिनो आशा र बलियो विश्वासबीचको द्वन्द्वमाथि बलशाली बनेर अघि भर्खरैको दुर्घटनाले तन र मन दुवैलाई तरङ्गित बनाउने क्रम भने रोकिएको थिएन । 

हो, एकैछिनअघि अनायासै दुर्घटना भयो । त्यहीँ नजिकै रहेछन् कि खै कुन्नि ! रकेटको गतिमा आइपुगे दुईजना युवा । उसलाई र मोटरसाइकललाई उठाएपछि तिनीहरूले भनेका थिए– कतै ठूलो चोट त लागेन ? आज ठूलो कालबाट बच्नुभयो । शरीरको धुलो टक्टकाउँदै उसले ‘धन्यवाद, अब म जान सक्छु’ भनेपछि ती दुईले राम्ररी जानुहोला भनेका थिए । अलिकति भुइँ भिजेको थियो र त्यसैबेला पेट्रोलको नमिठो गन्ध नाकै घोच्न आइपुगेको थियो । त्यो गोली गतिको दुर्घटना र चामत्कारिक उद्धारले उसको मनमा प्रश्न उब्जियो–यतिबेला यहाँ यस्तै हुनेछ र यही काम गर्नुपर्नेछ भनी कसैले खटनपटन गरेजस्तो अनौठो आकस्मिकताका पछाडि के रहस्य होला ?

चौबाटोमा आएपछि अनायासै मोटरसाइकल पल्टिएको थियो र त्यसले उसलाई त्यतिन्जेलसम्म थिच्यो जतिन्जेलसम्म ती दुई युवा आएर उठाएनन् । चौबाटोको बीचमा सदियौँदेखि पहरेदारझैँ अविचलित उभिएको बूढो पीपलको रुखले त्यो घटनाको सबैभन्दा ठूलो साक्षी बनेर समभावका साथ हेरिरहेको थियो । मोटरसाइकल पल्टिनुका पछाडि कुनै बलियो कारण थिएन । गति सीमित नै थियो । आफूभन्दा अघिपछिका सवारी साधनहरूले केही दख्खल दिएका थिएनन् । विपरीत दिशा वा दायाँबायाँबाट आवतजावत गर्नेहरूले पनि कुनै भय वा व्यवधान उत्पन्न गरेका थिएनन् । हो, चौबाटो हुनाले अन्यत्रभन्दा सवारीको चाप अलि बढी नै थियो र त्यहीँबाट अलिकति मोडिएर देब्रेपट्टि लाग्नुपर्ने थियो । यही उपक्रममा देब्रेपट्टि नै मोटरसाइकल पल्टियो । पल्टिसकेपछि एक्सिलेटर बढी बटारिएकाले एकछिनसम्म ठूलो आवाज आइरहेको थियो । 

काल ठूलो र सानो भन्ने त हुँदैन तर पनि डरलाग्दा दुुर्घटनाबाट बाँचेकाहरूलाई ‘ठूलो कालबाट जोगिएको’ भन्ने गरिन्छ । त्यो दुर्घटनाभित्रको पनि सुखद संयोग पछाडिबाट तीव्रगतिमा कुनै सवारीसाधन नआएको हुनाले पच्याकपुचुक हुनबाट जोगिएको थियो ऊ । कुनै ठूलो हानिनोक्सानी नभएको दुर्घटनाको कुरालाई जति छिटो बिस्र्यो त्यति नै राम्रो भन्ने विचार उसको मनमा नआएको त होइन तर त्यसले निर्णायक प्रभाव पार्न नसकेको हुनाले त्यही कुराले नै निरन्तरता पाइरह्यो जसलाई ऊ बिर्सिन चाहन्थ्यो । 

‘कसरी यस्तो भयो त ?’ एउटा मनले उसैलाई प्रश्न ग-यो ।

दुई वर्षअघि किनिएको मोटरसाइकलमा राम्रोसँग हात नबस्ने कुरै भएन । अनि जतनसाथ चलाएको बाइकमा कुनै खराबी पनि त थिएन । बाटो त्यही हो जहाँ उसले वर्षौंदेखि यसरी नै मोटरसाइकल कुदाउँदै आएको थियो । हो, आज बिहानदेखि नै ऊ अलि बढी खुसी भने थियो । किनकि आफूलाई राजनीतिको कखरा सिकाएका गुरु हिजो मात्र मन्त्रीमा नियुक्त भएर आज शपथग्रहण र पद बहालीसँगै निवासमा गरिएको झण्डापूजापछिको जलपान कार्यक्रममा ऊ पनि आमन्त्रितमा परेको थियो । ऊ पुग्दा झण्डापूजाको कार्यक्रम त सकिइसकेको थियो तर झण्डालाई बोकेका डण्डाको फेदमा प्रशस्तै रगत लत्पतिएको र त्यसमाथि फूलपाती अनि रातो अबिर छरिएको पूजास्थल त उसले पनि देख्यो । जलपानमा मासुका विभिन्न परिकार, च्यूरा, अचार र हल्का पेय पदार्थ राखिएको रहेछ । बधाई साटासाटसँगै खानपिन गर्दै गर्दा सहयोगीहरूले खानेकुरा थप्न सबैलाई कर गरिरहेका थिए । एक/दुई जनाले पेय पदार्थलाई लिएर ओठ लेप्राएको पनि देखिन्थ्यो । त्यसैबेला कसैले भनेको थियो–मन्त्री पदमा सफलतापूर्वक लामो समयसम्म टिकिरहन कालो बोको काटेर पूजा गर्न नामी ज्योतिषले दिएको सल्लाहअनुसारै आज बिहानै बोकाको बलि दिइएको थियो रे । अनि हिजै मन्त्रीजीले अब प्रधानमन्त्री हुने बाटो पनि खुलोस् भनेर सात ठाउँका देवदेवीका नाममा भाकल पनि गरेका छन् भन्ने कुरा सुनाउँदा र सुन्दा मान्छेहरू खासखुस गरिरहेका थिए । उपस्थितहरूबीच मन्त्रीले भाषण भने पहिलेजस्तै क्रान्तिकारी नै गरेका थिए रे । 

जलपान नाम दिइएको उक्त भोज खाएर मन्त्री निवासबाट फर्किंदै गर्दा बाटोमा उसले विगतका अनेक कुरा सम्झियो । आजका ती मन्त्री त्यसबेला उसका शिक्षक थिए । दिनभरि नेपाली विषय पढाउने ती गुरु रातिराति भने उग्र क्रान्तिकारी हुन्थे र भन्थे– “परम्परागत मान्यता सबै कुसंस्कार र ढोङ मात्र होइनन् कि विकास र प्रगतिका बाधक पनि हुन् । त्यसैले तिनलाई जरैदेखि उखेलेर निमिट्यान्न पार्न हामी नै लाग्नुपर्छ ।” आफ्ना विचार प्रमाणित गर्न ती क्रान्तिनायकले अनेक दृष्टान्त प्रस्तुत गर्थे । अरूहरूले जेजेलाई देवता मान्थे गुरु तीती सबै देवता होइनन् भन्थे । अरूहरू पीपलको पूजा गरेर त्यसको फेदमा जल चढाउँथे । उनी त्यो केही होइन भन्थे । अनि आफ्ना गुरुको त्यही उक्साहटमा लागेर ऊ र उनीहरू पीपलको फेदमा जथाभावी गर्थे । कति पटक त तिनीहरूले जथाभावी गरेको देखेर गाउँका अरू मान्छेहरूले तिनलाई गाली गर्दै लखेटेका थिए । 

केही वर्षपछिको कुरा हो, सहरबाट गाउँ फर्किंदा उसको क्रान्तिकारिता अझ जब्बर बनेको थियो र उमेरको चिह्न बनेर गालाभरि झपक्क दारी पनि सुहाएको थियो । गाउँ नजिकै पुग्दा चौतारामा रहेको त्यही बूढो पीपलको टोड्कामा आफ्नो दारीजस्तै झ्याउ पलाएको उसले देखेको थियो । थकाइ मार्न एकछिन त्यही चौतारामा बसेर घोत्लिएपछि उसले आफ्नै अन्तरमनलाई सोधेको थियो– क्रान्तिकारिता यो मेरो गालाको दारीमा होला कि, यो पीपलका परपरसम्म फैलिएका जरामा होला ? केही बुझ्नै सकिएन । ऊ त्यहाँबाट अनुत्तरित भएर हिँड्नुअघि त्यहीँ नजिकै रहेको बरको रुखमाथि गुँड लगाएर बचेरा हुर्काउँदै गरेका कागका भालेपोथीले पालैपालो आफ्ना सन्तानलाई चारो खुवाएको देखेर ऊ कसोकसो रोमान्चित बनेको थियो । त्यहीबेला नजिकै अर्को हाँगामा एकजोडी ढुकुर निमग्न प्रेमिल बनिरहेका थिए ।

केहीबेर अघि दुर्घटना हुनुअघिसम्म यसरी उसको मनभित्र सम्झनाका पोयाहरू फुक्दै गइरहेका थिए भने वर्षौंदेखि अभ्यस्त भएकाले गन्तव्य र बाटोको विषयमा मोटरसाइकललाई नै पर्याप्त ज्ञान भएझैँ गरी त्यो गुडिरहेको थियो । अनि सम्झनाका शृङ्खला र मोटरसाइकलको गतिलयलाई अघोषित सम्झौताको इमानदारीपूर्वक पालना गर्न एकले अर्कालाई सघाएजस्तो भान भइरहेको बेला अप्रत्याशित दुर्घटनाले त्यो शृङ्खला त्यत्तिकै टुटेको थियो । 

दुर्घटनापछि कमजोर बनेको मन र थरथर काँपिरहेका हातखुट्टालाई विश्राम दिन अलिकति पर पुगेपछि ऊ सडकको छेउ लागेर एकछिन अडिएको थियो । त्यसैबेला उसलाई के लाग्यो भने पहिले पीपलको फेदमा जथाभावी गरेको पापले नै आज ऊ बूढो पीपलको रुख अगाडि त्यसरी लडेको हो । यसमा पक्कै पनि श्राप वा दैवीशक्तिले काम गरेको हुनुपर्छ । अनि त्यो कुराको पश्चाताप गर्ने मौकाकै लागि ऊ त्यसरी कालको मुखमा पुगेर पनि बाँचेको हो । त्यसैले क्षमायाचनाका लागि आफू त्यहाँ जानैपर्छ भन्ने निश्चयका साथ ऊ विस्तारै अघि बढेको हो । 

एकैछिन रोकिएर अघि बढ्नै लाग्दा उसको मनमा अर्को प्रश्न पनि उब्जियो– यदि अघि दुर्घटना भएको ठाउँनेर फर्केर जानु नै छ भने घरसम्म पुगेर आउनुको सट्टा यहीँबाट किन नफर्किने ? हातमुख धुनका लागि त अरू पनि विकल्प हुन सक्छन् । अनि ऊ नजिकै रहेको चिया पसलमा छि-यो । मूलतः त्यो चिया पसलभन्दा पनि मिठाइ पसल थियो जहाँ चारपाँच महिनाअघि पनि ऊ पसेको थियो । बीचमा कोरोनाको महामारी अलि बढेकाले त्यस्ता पसलहरू केही समय बन्दै भएका थिए । 

ऊ सरासर बाथरुममा पसेर हातमुख धोयो । ऐनामा अनुहार हेरिरहँदा उसले आफ्ना दारी निक्कै फुलेका र आँखाका छेउतिरको छाला पनि चाउरिएकाले बूढो भएजस्तो ठान्यो । देब्रे कुहिनो र त्यतैपट्टिको घुँडाको छेउतिर लछारिएको रहेछ । दुखिरहेको थियो । कपडामा लागेको धुलोमैलो थोरैथोरै पानी लगाउँदै पुछपाछ ग¥यो । अनि बाहिर निस्केर टेबुलमा बस्दै चियाको अर्डर ग¥यो । वल्लोपल्लो टेबुलमा बसेकाहरू आआफ्नै गफगाफ र खानपिनमा मस्त थिए । ऊ भने एकछिन विचार शून्यजस्तो भयो । 

एकैछिनमा ऊभन्दा अगाडिको टेबुलमा बसेका दुईजनालाई उसले आफैँप्रति लक्षित गरेर निकै हाँसेको देख्यो । निमेषभरमै अर्को र अर्को टेबुलका मान्छेहरू पनि त्यसरी नै हाँस्न थाले । ला, कतिबेला उसको टेबुलमा चियाको कप आइपुगेछ र उसले त मास्क नै नखोली दुई पटकसम्म चियाको कप मुखसम्म पु-याएको रहेछ । यस्तो कुराले ऊ आफैँ लज्जित भयो । मान्छेहरू हाँस्न छाडेका थिएनन् । बल्ल उसको ध्यान आफू वरिपरिको परिवेशमा गयो । पसलका टेबुलहरूमा त्यति धेरै मान्छे त रहेनछन्, जति धेरै उसले देखेको थियो । बरु यसबीचमा कोरोनाका कारणले बन्द भएको होटलको त्यो कोठाको चारैतिर सिसा लगाइएको रहेछ । हेर्दै जाँदा ऊ आफैँले आफैँलाई एउटा होइन धेरै पो देख्यो । चारैतिर आफू नै आफू ।