• २३ जेठ २०८२, शुक्रबार

निर्यात बढाउन प्रमलाई सातबुँदे सुझाव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सातबुँदे सुझावपत्र प्रस्तुत गरेको हो । 

महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीति कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ । 

महासङ्घका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको बताउनुभयो ।  यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ । 

सुझाव ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महासङ्घको नयाँ नेतृत्वलाई बधाई दिँदै आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धि जस्ता विषयलाई सरकारले उच्च महìव दिएकाले निर्यात व्यवसायीका उचित सुझावलाई सम्बोधनको पहल गरिने विश्वास दिलाउनुभयो । उहाँले विद्यमान स्थितिमा निर्यात व्यवसायीलाई धेरै प्रोत्साहन दिन नसके पनि सम्भव र व्यावहारिक विकल्पमा साझा प्रयास गरिने आग्रह गर्नुभयो ।