• २३ जेठ २०८२, शुक्रबार

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : देशभर आंशिकदेखि साधरणतया बदली

blog

काठमाडौँ, जेठ २२ गते । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण बिहीबार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभाव सातै प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।