• १४ माघ २०८२, बुधबार

सुदूरपश्चिमको पहाडी क्षेत्रमा वर्षा र हिमपात

blog

बैतडीको पहाडी क्षेत्रमा परेको हिमपात ।

केशवराज भट्ट 

वाशुलिङ बैतडी, माघ १४ गते । सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ । बैतडीमा मङ्गलबार साँझदेखि नै  सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो ।

दोस्रो पटकको वर्षा र हिमपातसँगै गहुँलगायत हिउँदे बाली सप्रिने आशा जागेको छ । लामो समयसम्म पानी नपरेर बाली प्रभावित बनेको अवस्थामा भएको वर्षा र हिमपातले किसानलाई राहत मिल्ने अपेक्षा गरिएको स्थानीय कृषक नरेन्द्र विष्टले बताउनुभयो ।

हिमपातका कारण उच्च भेगमा चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ । कतिपय स्थानमा धाराको पानी जम्नुका साथै स्थानीयवासीलाई हिँडडुलमा समेत कठिनाइ भएको सुर्नया-८, ढोल्यामोडका स्थानीय दिनेश बोहराले बताउनुभयो ।

जिल्लामा सञ्चालन भइरहेका खेलकुदका कार्यक्रम, मेला महोत्सव, विद्यालय आवागमन, यातायात लगायतका क्षेत्रमा यस्को प्रभाव परेको स्थानीयले बताएका छन् । यसैबिच सुदूरपश्चिमसँगै देशका अन्य पहाडी जिल्लामा दोस्रो पटक हिमपात भएको छ । 

दार्जुला जिल्लाका उच्च पहाडी क्षेत्रमा गए रातिदेखि बाक्लो हिमपात भइरहेको स्थानीयहरूले बताएका छन् । हिमपातले जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रहरू सेताम्मे छन् । दोस्रो पटकको वर्षा र हिमपातले हिउँदे बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने सुदूरपश्चिमका किसानहरूले विश्वास व्यक्त गरेका छन् ।