• १४ माघ २०८२, बुधबार

सातामा दुई पटक हिमपात, बालीलाई निकै लाभ

blog

डडेल्धुराको महाभारत पर्वत क्षेत्र सुग्घाणामा मङ्गलबार राति भएको हिमपात । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 
डडेल्धुरा, माघ १४ गते । 
पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर्षा भएको थियो । हिउँदे वर्षासँगै राति हिमपातसमेत भएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो तीन वर्षपछि मात्रै डडेल्धुरामा हल्का हिमपात भएको हो ।

उहाँका अनुसार यस अघि डडेल्धुराका उच्च पहाडी भेगमा २०७९ माघ ९ गते हिउँदे वर्षासँगै हिमपात भएको थियो । त्यस यताका वर्षहरुमा भने हिमपात भएको थिएन । शुक्रबार राति २६ मिलिमिटर वर्षासँगै हल्का हिमपात भएको उहाँले बताउनुभयो । जिल्ला सदरमुकामा हिमपात भए पनि पग्लिएको थियो भने उच्च पहाडी भेग महाभारत पर्वत क्षेत्र करिब ६ इन्चसम्म हिमपात भएको उहाँको भनाइ छ ।

यसैगरी, मङ्गलबार साँझदेखि फेरी सुरुभएको वर्षासँगै उच्च पहाडी क्षेत्र दोस्रो पटक हिमपात भएको उहाँले बताउनुभयो । मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म डडेल्धुरामा २४ मिलिमिटर वर्षा भएको उहाँले जानकारी दिनुभयो । बुधबार बिहान केही क्षण वर्षा रोकिए पनि फेरि सुरु भएको छ । उहाँले भन्नुभयो, ‘‘बुधबार रातिसम्म पानी पर्ने सम्भावना छ भने बिहीबारदेखि मौसम खुल्ने सम्भावना छ । बुधबार दिनभरि र रातिसम्म पानी पर्ने सम्भावना भएकाले हिमपातको सम्भावना उच्च रहेको छ ।’’

डडेल्धुराको आजको अधिकत तापक्रम ८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ० डिग्री हुनसक्ने सभावना रहेको उहाँले बताउनुभयो । हिउँदे वर्षा र हिमपातले हिउदे बालीनालीका लागि पर्याप्त भएको उहाँको भनाइ छ । १२ मिलिमिटर वर्षा हुँदा एक फिट गहिराइसम्म आर्द्रता पुग्ने भएकाले बुधबार बिहानसम्म भएको वर्षाले दुई फित गहिराइसम्म पुग्ने भएकाले बालीनालीका लागि पर्याप्त पानी पुगेको उहाँले बताउनुभयो ।

असोजको तेस्रो सातापछि करिब तीन महिनासम्म हिउँदे वर्षा नहुँदा हिउँदेबाली सुकिसकेको थियो भने हिउँदे फलफूलका बोटबिरुवा लगाउन ढिलाइ भएको थियो । डिभिजन वन कार्यालयलगायतका कार्यालयले ओखरलगायतका हिउँदे फलफूलका बिरुवा किसानलाई वितरण गरेसकेको थियो । तर हिउँदे वर्षा नहुँदा किसान निराश भएको वन अधिकृत रणेन्द्र सिंहले बताउनुभयो । अहिले भएको वर्षा किसानका लागि वरदान भएको उहाँको भनाइ छ ।

हिउँदे वर्षा नहुँदा माघ महिनामा लगाइने आलु लगायत अन्य बर्खे तरकारी खेती कसरी गर्ने भन्ने चिन्ता थियो । अमरगढी नगरपालिका ३ चम्सालका व्यावसायिक किसान सुनीता बोहराले भन्नुभयो, शुक्रबार र अहिले भएको वर्षाले खनजोतसगै आलु र तरकारीको बिउ राख्न सहज हुने भएको छ ।’’ कात्तिक, मङ्सिर, पुस महिनामा हिउँदे वर्षा नहुदा निराश भएका किसानलाई माघ महिनाको अहिले भइरहेको वर्षाले राहात पुगेको उहाँको भनाइ छ ।