• १४ माघ २०८२, बुधबार

तीन गुण बढी कैदीबन्दी मतदानमा सहभागि हुने

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी) माघ १४ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेकोमा यस पटकको निर्वाचनमा विगतको भन्दा तीनगुणा बढी कैदीबन्दीले मतदान गर्ने भएका हुन् ।

निर्वाचन कार्यालयले सुरु गरेको मतदाताको लगत सङ्कलनका क्रममा १६० जना कैदीबन्दीले मतदान गर्ने अवस्था देखिएको सप्तरी कारागार कार्यालयका प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो ।

“२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए । यसपल्ट तथ्याङ्क सङ्कलनका क्रममा उक्त सङ्ख्यामा बढेर १६० पुगेको छ” उहाँले भन्नुभयो ।

कारागारमा हाल ‘क’ र ‘ख’ गरी दुईवटा ब्लकमा कुल तीन सय ६६ कैदी बन्दी छन् । जसमध्ये सात जना भारतीय नागरिक छन् । मतदाता सूचीको अध्ययन गर्ने कार्य भइरहेको भन्दै केही दिन भित्रै यकिन सङ्ख्या बताउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जानकारी दिनुभयो ।

उहाँले विवरण सङ्कलन गरेर जिल्ला निर्वाचन कार्यालयले अध्ययन गरी अन्तिम नामावली तयारपार्ने काम गरिरहेको बताउनुभयो ।

मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कैदी बन्दीले पनि मतदान गर्न पाउने अघिल्लो २०७९ को निर्वाचनदेखि नै व्यवस्था भए बमोजिम यसपल्ट पनि मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएका छ । मतदाता नामाबलीमा समेटिएका कैदी बन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदानका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र राखिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले उनले जानकारी दिनुभयो ।

सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा कुल चार लाख ४६ हजार चार सय दुई मतदाता रहेको र निर्वाचनका लागि जिल्लामा २९६ मतदान स्थल र पाँच सय ६२ मतदानकेन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।