गौशाला (महोत्तरी), माघ १४ गते । महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ । विशेषगरी गत भदौ महिनामा भएको नवयुवाहरूको आन्दोलनपछि युवाहरूले राजनीति प्रत्यक्ष हस्तक्षेप गर्नुपर्ने आवाज उठाउँदै आएका थिए, जसको असर महोत्तरीमा पनि देखिएको छ ।
यद्यपि, जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, “सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।” यसअघि केही नयाँ र पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशतः राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए ।
प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीबाट आठ जना जेनजी पुस्ताका युवाहरू प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये छ जना स्वतन्त्र उम्मेदवार हुन् भने दुई जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन् । यो सङ्ख्या सानो देखिए पनि स्थानीय राजनीतिक इतिहासका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।
क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा शिव नारायण महतो र सचिन महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नम्बर २ मा राज गुरु यादवले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर ३ बाट ‘नेपालका लागि नेपाली पार्टी’का तर्फबाट रजनिश राज पाण्डेय उम्मेदवार बन्नुभएको छ । क्षेत्र नम्बर ४ मा जनता लोकतान्त्रिक पार्टी नेपालका तर्फबाट शिव शंकर कुमार शर्मा उम्मेदवार हुनुहुन्छ भने यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा गंगाप्रसाद यादव, विनोदकुमार मण्डल र सुकेशकुमार यादव चुनावी मैदानमा हुनुहुन्छ ।
यी युवा उम्मेदवारहरूको साझा विशेषता भनेको पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो । उहाँहरु सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाउँदै मतदातासामु पुग्नुभएको छ । धेरैजसो उम्मेदवार सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग संवाद गरिरहनुभएको छ, जुन परम्परागत राजनीतिभन्दा फरक अभ्यास मानिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो । “यी युवाहरूले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछ,” एक स्थानीय विश्लेषक बताउनुहुन्छ ।
महोत्तरीमा देखिएको यो परिवर्तन सानो भए पनि अर्थपूर्ण छ । यसले राजनीतिमा पुस्तान्तरणको बहसलाई बल दिएको छ र जेनजी पुस्ता अब सडक आन्दोलनबाट मात्र होइन, मतदान र उम्मेदवारीमार्फत पनि आफ्नो आवाज स्थापित गर्न खोजिरहेको स्पष्ट देखिन्छ ।