गौशाला (महोत्तरी), माघ १३ गते । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले महोत्तरी जिल्लाको राजनीतिक वातावरण असाध्यै तातिएको छ । मधेशको राजनीतिमा सधैँ अर्थपूर्ण भूमिका खेल्दै आएको यो जिल्ला यसपटक झनै विशेष चासोको विषय बनेको छ । कारण हो, चारवटै निर्वाचन क्षेत्रमा सात जना पूर्वमन्त्रीहरूको प्रत्यक्ष प्रतिस्पर्धा । अनुभव, पहुँच र विगतका राजनीतिक उपलब्धि बोकेका यी नेताहरूको उपस्थितिले महोत्तरीको चुनावलाई सामान्य प्रतिस्पर्धाभन्दा माथि उठाएर राष्ट्रिय तहकै चासोको विषय बनाइदिएको छ ।
महोत्तरी क्षेत्र नं–१ मा पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरिराजमणि पोखरेल प्रमुख प्रतिस्पर्धीका रूपमा देखिनु भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिनु भएका पोखरेलले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा आफूले खेलेको भूमिकालाई मतदातासामु प्रस्तुत गरिरहनु भएको छ । उहाँसँग नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले मैदानमा उत्रिनु भएकाले यो क्षेत्र त्रिकोणात्मक प्रतिस्पर्धाको केन्द्र बनेको छ । यहाँ मतदाताले पार्टीप्रति निष्ठा देखाउने कि उम्मेदवारको व्यक्तिगत क्षमतालाई प्राथमिकता दिने भन्ने प्रश्न उठेको छ ।
क्षेत्र नं–२ मा पूर्वश्रम, रोजगार तथा यातायात मन्त्री शरत सिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएको छ । मधेश आन्दोलनका अनुभवी र प्रभावशाली नेता भण्डारीलाई यहाँ बलियो दावेदार मानिए पनि प्रतिस्पर्धा सहज छैन । नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले)का कासिम नदाफले कडा चुनौती प्रस्तुत गरिरहनु भएको छ । रोजगारी, विकास र मधेशको पहिचानका मुद्दाले यो क्षेत्रको चुनावी बहसलाई तातो बनाएको छ ।
महोत्तरी क्षेत्र नं–३ को राजनीतिक कथा अझै रोचक छ । पूर्व कृषि मन्त्री हरिनारायण यादव पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिनु भएको छ । उहाँको व्यक्तिगत प्रभाव र पुरानो जनसमर्थन कति निर्णायक हुन्छ भन्ने चासो बढेको छ । अर्कोतर्फ पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान नेपाल सङ्घीय समाजवादी पार्टीबाट उम्मेदवार बन्नु भएको छ । यस क्षेत्रबाट कांग्रेस, एमाले, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवार गरी धेरै प्रतिस्पर्धी रहेकाले मत विभाजन हुने सम्भावना उच्च देखिन्छ ।
क्षेत्र नं–४ मा त झनै रोचक दृश्य देखिएको छ । पूर्व कृषि मन्त्री महेन्द्रकुमार राय (नेपाली कांग्रेस), पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव (जसपा नेपाल) र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह (नेकपा) एकै क्षेत्रबाट चुनाविक मैदानमा हुनुहुनछ । यसमा एमालेका उम्मेदवार निलम अधिकारीको उपस्थितिले प्रतिस्पर्धा थप चर्किएको छ ।
समग्रमा, महोत्तरीको निर्वाचन यसपटक अनुभवीविरुद्ध नयाँ सोच, दलगत संगठनविरुद्ध व्यक्तिगत प्रभावको स्पष्ट परीक्षण बनेको छ । चारवटै क्षेत्रका मतदाताले विगतको कार्यसम्पादन, विकासप्रतिको प्रतिबद्धता र स्थानीय समस्याप्रतिको संवेदनशीलतालाई आधार मानेर निर्णय गर्ने अपेक्षा गरिएको छ । सात पूर्वमन्त्रीको प्रत्यक्ष प्रतिस्पर्धाले महोत्तरीको चुनावलाई केवल स्थानीय नभई राष्ट्रिय राजनीतिक चासोको केन्द्रमा ल्याएको छ ।