• १४ माघ २०८२, बुधबार

प्रदेश अस्पताल बेनीमा देखिएका समस्या समाधान हुन्छ : स्वास्थ्य मन्त्री

blog

अस्पताल व्यवस्थापन समितिका तर्फबाट समस्याहरुसहितको मागपत्र मन्त्री गौतमलाई बुझाउँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १४ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले प्रदेश अस्पताल बेनीले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य बिमा रकम भुक्तानीको ढिलाइ, दक्ष चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरणको अभाव लगायतका समस्याको समाधानका लागि मन्त्री गौतमले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार साँझ अस्पतालको निरीक्षण तथा सुपरीवेक्षणपछि चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापन समितिसँग भएको छलफलमा मन्त्री गौतमले बिमा भुक्तानी, जनशक्ति व्यवस्थापन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बिमा रकम भुक्तानीको ढिलाई, दक्ष चिकित्सकको अभाव, अस्पताल भवन निर्माणमा भएको ढिलाइ र स्वास्थ्य उपकरणको समस्याबारे मन्त्री गौतमलाई जानकारी गराउनुभएको थियो ।

मन्त्री गौतमले सरकारले बिमाको रकम भुक्तानी गर्न स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बिमाको कार्यकारी निर्देशकलाई सरकारी अस्पतालले पाउनुपर्ने बिमाको रकम तत्काल भुक्तानीको वातावरण मिलाउन सरकारले निर्देशन दिएको छ । बेनी अस्पतालले करिब पाँच करोड रुपियाँ बराबर बिमाको रकम बाँकी रहेछ । सानो अस्पतालको यो धेरै रकम हो । पुरै रकम पठाउने अवस्था नभए पनि केही रकम तत्काल पठाउने प्रयास गर्दछु ।’’

मन्त्री गौतमले अस्पतालमा आवश्यक पर्ने उपकरणहरु र चिकित्सक पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  स्वास्थ्य बिमा कार्यक्रमलाई नियमित रुपमा सञ्चालन र प्रभावकारी बनाउन वर्तमान सरकारले निरन्तर प्रयास गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।

उहाँले प्रतिकूल अवस्थामा पनि नागरिकहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री गौतमले मङ्गलबार प्रदेश अस्पताल पर्वत र बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालको पनि निरीक्षण गरी समस्याहरुका बारेमा जानकारी लिनुभएको थियो ।