हुम्ला समाचारदाता
हुम्ला, माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाका सबै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेसँगै गाउँ केन्द्रित घरदैलो अभियानमा लागेका छन् । माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दलका उम्मेदवारहरू र पार्टीका नेता कार्यकर्ता घरदैलो अभियानका लागि गाउँ केन्द्रित भएका छन् ।
सबैभन्दा पहिला नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाले औपचारिक रूपमा मतदाता भेट्न घरदैलो अभियानको सुरु गर्नुभएको छ । सिमकोट गाउँपालिका भित्रका बस्तीमा गएर मतदाता भेटघाट गर्नुभएका उहाँले सुरुबाट सिमकोट गाउँपालिका–५ को खाद्यक (तल्लो गाउँ) गाउँको चौपाडीबाट सुरु गर्नुभएको हो । नेकपाका सचिव धर्मराज बोहोराका अनुसार औपचारिक अभियान सुरु भएको र सदरमुकाम सिमकोट आसपासमा घरदैलो चलिरहेको छ । उहाँलाई नेकपा केन्द्रीय सदस्य वीरजङ्ग शाही, तीर्थराज रोकायालगायत नेकपाका नेता तथा कार्यकर्ताले सहयोग गरिरहनुभएको छ ।
त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायाले पनि आफ्नो गृह गाउँपालिका सिमकोट–५ को खाद्यक गाउँबाट अनौपचारिक घरदैलो अभियान सुरु गरेको कांग्रेस उपसभापति वसन्त रोकायाले बताउनुभयो । मङ्गलबारबाट कांग्रेस उम्मेदवार रोकायाले सिमकोट गाउँपालिका–४ को बुराउसे र हिल्दुम बस्तीबाट सुरु गर्नुभएको उहाँले जनाउनुभयो । रोकायाको घरदैलो अभियानमा कांग्रेस कावा सभापति कैलाश भण्डारी, उपसभापति वसन्त रोकाया, समानुपातिक उम्मेदवार ताराबहादुर लामा, जिल्ला कार्यसमितिका सदस्य, कांग्रेसका भ्रातृ तथा शुभेक्छुक संस्थाका नेताले सघाइरहनुभएको छ । यस्तै नेकपा (एमाले) हुम्लाका उम्मेदवार दलबहादुर फडेराले भने माघ १४ गते बुधबारबाट औपचारिक रूपमा निर्वाचनलक्षित मतदाता भेट्न घरदैलो अभियान सुरु गर्न लागिएको एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीले बताउनुभयो । एमालेले बुधबारदेखि सिमकोट गाउँपालिका–५ बाट घरदैलो अभियान गर्न लागेको उहाँले जनाउनुभयो ।
एमालेले निर्वाचनलक्षित माघ १४ गतेदेखि फागुन २१ गतेसम्म निर्वाचनका लागि पार्टीले गर्नुपर्ने गतिविधि समेटिएको कार्यतालिका नै सार्वजनिक गरेको छ । एमाले चुनावी प्रचार अभियानका लागि केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य एवं एमाले हुम्लाका इन्चार्ज दलबहादुर रावल, एमाले हुम्लाका अध्यक्ष बुमी, उपाध्यक्ष प्रकाशबहादुर शाही, सचिव तीर्थराज बोहोरालगायतका नेता जिल्ला आइसक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टासी लाङ्जोमले पनि सिमकोट गाउँपालिकाबाट मतदाता भेट्न घरदैलो अभियान सुरु गर्नुभएको छ । आफ्ना जेन्जी युवा साथमा लिएर उहाँले मत मागिरहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार छक्क बुढालाई मत माग्दै मतदाता भेटघाट कार्यक्रमलाई अनौपचारिक रूपमा सुरु गरिएको र औपचारिक रूपमा अभियानको सुरुवात राप्रपा उम्मेदवार बुढाको गाउँपालिका सर्केगाडबाट सुरु गरिने सो पार्टीका अध्यक्ष विकास महतले बताउनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जटिल कार्की, नेकपा (माओवादी) का उम्मेदवार कुम्म बुढालगायतले पनि गाउँमा पुगेर मत माग्न थाल्नुभएको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार हुम्लामा सात राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् । अब फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाबाट ३४ हजार ३७२ मतदाताले मात्र मतदान गर्न पाउने गरी मतदाता सङ्ख्या कायम भएको छ ।