विनय कर्ण
कल्याणपुर (सप्तरी) माघ १४ गते । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता विपरित जिल्लाको विभिन्न स्थानमा झुण्डाइएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ ।
जिल्लामा आचारसंहिता उल्लङ्घन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबार राजनीतिकदलका प्रतिनिधि र उम्मेदवारसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।
छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गर्नुहुँदै आचारसंहिता विपरितका प्रचार सामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिनुभयो ।
“आचारसंहिता विपरित दल वा उम्मेदवारले राजविराज सहित जिल्लाको अन्य स्थानमा झुण्याएको प्रचारप्रसार सामग्री आफैँले हटाउन आग्रह गर्दछु, नभए कारबाही प्रक्रिया अगाडी बढ्छ ।,’’ उहाँले भन्नुभयो, “आफैँले बनाएको आचारसंहिता आफै पालना गर्नुस् ।’’
२४ घण्टापछि अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्ने र आचारसंहिता पालना नभएको भेटिए कारबाही अगाडि बढाउने राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहितामा फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचारप्रसार सामग्री झुण्डयाउन सकिने उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।