• १४ माघ २०८२, बुधबार

मुलुकमा परिवर्तन हुन जरुरी छ : शाह

blog

समर्थकलाई अभिवादन गर्नुहुँदै रास्वपा नेता बालेन्द्र शाह ।

धनगढी समाचारदाता

धनगढी, माघ १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुकमा परिवर्तन हुन जरुरी रहेको उल्लेख गर्नुभयो । धनगढीमा आफ्ना कार्यकर्ता तथा समर्थकसँग कुरा गर्दै उहाँले देश चलाउन राम्रो मान्छे आउन जरुरी रहेको बताउनुभयो । देशको नेतृत्व युवाले गर्न आवश्यक रहेको वरिष्ठ नेता बालेन शाहको थियो । 

चुनावी अभियानका क्रममा शाह मङ्गलबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसहित विभिन्न ठाउँमा पुगेपछि उहाँप्रति मान्छेको क्रेज देखिएको थियो । बालेनलाई हेर्न, भेट्न र स्वागत गर्नका लागि सडकमा मानवसागर उर्लिएको थियो । लम्की, सुखड, अत्तरियामा कार्यकर्ता र समर्थक भेटघाट गरेर धनगढी पुग्नुभएका शाहले रातो पुलमा रहेको घण्टीघरमा पार्टी कार्यकर्ता र समर्थकसँग भेटघाट गर्नुभएको थियो । धनगढीमा उहाँले रास्वपाको झन्डा फहराउनुका साथै केहीबेर घन्टीसमेत बजाउनुभएको थियो ।

वरिष्ठ नेता शाह धनगढीपछि डोकेबजार, पुनर्वास हुँदै कञ्चनपुरको महेन्द्रनगर प्रस्थान गर्नुभएको थियो । कञ्चनपुरमा पनि उहाँलाई स्वागत गर्ने र हेर्नेको उत्तिकै भिड लागेको थियो । 

यसैबिच बालेनलाई हेर्न र भेट्नका लागि सडकमा आएका धनगढीका मतदाताले मुलुकलाई परिवर्तन चाहेको र अबको निर्वाचनबाट परिवर्तन हुनुपर्ने बताएका छन् । निर्वाचनमा भोट हाल्नका लागि भारतको दिल्लीबाट आउनुभएका बझाङस्थित खप्तडछान्नाका जयन्त पाध्यायले परिवर्तनका लागि भोट दिन आएको बताउनुभयो । 

क्षेत्रगत समस्याबारे छलफल

घोडाघोडी समाचारदाताका अनुसार रास्वपाका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली क्षेत्र नम्बर १, २ र ३ मा पुग्नुभएको छ । भेटघाटका क्रममा उहाँले त्यस क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभयो । उहाँले मङ्गलबार बिहान क्षेत्र नम्बर १ को टीकापुर, क्षेत्र नम्बर २ को लम्कीको भल्का र क्षेत्र नम्बर ३ को सुखडमा रहेको पार्टी कार्यालय पुगेर त्यहाँका उम्मेदवार तथा नेतासँग क्षेत्रगत समस्याका बारेमा जानकारी लिनुभयो ।

नेता शाहले टीकापुरमा क्षेत्र नम्बर १ का उम्मेदवार कोमल ज्ञवाली, लम्कीचुहा नगरपालिका भल्कामा रहेको पार्टी कार्यालयमा कैलाली क्षेत्र नम्बर २ का उम्मेदवार केपी खनाललगायत रास्वपा नेतासँग चुनावी अवस्था र सो क्षेत्रका समस्याका बारेमा जानकारी लिनु भएपछि सुखड पुग्नुभएको थियो । क्षेत्र नम्बर ३ का उम्मेदवार जगतप्रसाद जोशीले नेता शाहसँगको छलफलमा कैलाली क्षेत्र नम्बर ३ पर्यटन र कृषिका लागि सम्भावना बोकेको क्षेत्र भए पनि बाढी, डुबान, कटानको समस्यालगायतले आक्रान्त रहेको बताउनुभएको थियो । 

बिहान ७ बजे राजापुरमा भएको स्वागत कार्यक्रममा उपस्थित भएर कैलाली पुग्नुभएका शाहको पहलमानपुर, मसुरिया, चौमाला, अत्तरियालगायतका कैलालीका विभिन्न बजारमा भेटघाट कार्यक्रम रहेको थियो ।

बेलौरी समाचारदाताका अनुसार रास्वपाका वरिष्ठ नेता शाह कञ्चनपुर क्षेत्र नम्बर १ को पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका हुँदै महेन्द्रनगर पुग्नुभयो । उहाँले तीन वटै क्षेत्रका रास्वपाका उम्मेदवारसँग भेटघाट र छलफल गर्नुभएको छ । सो क्रममा उहाँले महेन्द्रनगरमा सयौँ कार्यकर्ताबिचमा घन्टी बजाउनुभएको थियो । रास्वपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा जनकसिंह धामी, क्षेत्र नम्बर २ मा दीपक बोहोरा र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ ।