• १४ माघ २०८२, बुधबार

लिखित एजेन्डा कार्यान्वयन गर्ने उम्मेदवारलाई मुसहर समुदायको मत

blog

सप्तरीको विष्णुपुर गाउँपालिकामा महिलाहरूको चुनावी छलफल गर्दै । तस्बिर : सुधा देव

सुधा देव 
भारदह (सप्तरी), माघ १४ गते ।
सप्तरीका मुसहर दलित समुदायले लिखित चुनावी एजेन्डा प्रस्तुत गरी त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय गरेका छन् ।

“चुनाव हेर्दा–हेर्दै मर्ने उमेर भइसक्यो, तर दलितको अवस्थामा कुनै परिवर्तन आएन,” विष्णुपुर गाउँपालिका–६ की ६५ वर्षीया कपुरवती देवी सदाले भन्नुभयो । उहाँका अनुसार नेताहरूले सधैं दलितलाई ‘भोट बैंक’ का रूपमा प्रयोग गरे, तर व्यवहारमा केही गरेनन् ।

“यसपालि पनि उम्मेदवारहरू दिनहुँ मत माग्न आउँछन्, तर दलितका लागि स्पष्ट र लिखित चुनावी एजेन्डा कसैसँग छैन,” उहाँले भन्नुभयो । केवल मुखले बोलेर मात्र नहुने, लिखित एजेन्डासहित व्यवहारमा कार्यान्वयन गर्ने सुनिश्चितता जनाउने उम्मेदवारलाई मात्र दलित समुदायको मत जाने उहाँको भनाइ छ ।

स्थानीय मतदाता ५७ वर्षीया अमोलिया देवी सदाका अनुसार दलितका लागि ‘के–के गरिदिन्छु, भन्ने आश्वासन वर्षौंदेखि सुनिँदै आएको छ । “मत लिएपछि आश्वासन कार्यान्वयन हुँदैन, त्यसैले हाम्रो अवस्थामा कुनै परिवर्तन आएको छैन,” उहाँले भन्नुभयो ।

गाँस, बाँस, कपास, शिक्षा र रोजगारीका लागि सधैं संघर्ष गर्नुपरेको उल्लेख गर्दै उहाँले दलित समुदाय अब परिवर्तन चाहने अवस्थामा पुगेको बताउनुभयो ।  “हाम्रो मुख्य माग दलित समुदायको आर्थिक सशक्तीकरण हो,” उहाँले जोड दिनुभयो ।

विष्णुपुर गाउँपालिका–६ का पूर्व वडाध्यक्ष बहादुर सदाका अनुसार चुनावले मात्र दलित समुदायको विकास हुन्छ भन्ने कुरा कल्पनामा सीमित छ। “दलित अधिकार र आर्थिक सशक्तीकरण नेताहरूले जुनसुकै बेला व्यवहारमा देखाउनुपर्छ,” उहाँले भन्नुभयो । अधिकार र मुद्दालाई भाषणमा सीमित नगरी कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

दलित अधिकारकर्मी भोला पासवानले सप्तरीका उम्मेदवारहरूको चुनावी एजेन्डामा दलितका मुद्दा समेटिन नसकेको बताउनुभयो । “भाषणमा प्राथमिकता दिएजस्तो देखिए पनि व्यवहारमा देखिँदैन,” उहाँले भन्नुभयो । मत लिनका लागि मात्र दलितलाई झुटो आश्वासन दिन नपाइने र अहिलेसम्म अधिकांश दलित त्यसको सिकार बनेको उहाँको भनाइ छ ।

यसैबीच, नेपाली जनता पार्टीकी उम्मेदवार तथा पूर्व सांसद रञ्जु ठाकुरले दलित समुदाय आफ्नो प्राथमिकतामा पहिले पनि रहेको र आगामी दिनमा पनि रहने बताउनुभयो ।

सप्तरी क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार संजय चौधरीले दलित समुदायलाई प्राथमिकतामा राखेर आफू चुनावमा होमिएको बताउनुभयो । निर्वाचित भए दलित समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर व्यवहारमा कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।