राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) माघ १४ गते । स्याङ्जाका राजनीतिक दल र तीनका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
जिल्लाका दुबै क्षेत्रका उम्मेदवार तथा जिल्लामा क्रियाशिल दलका नेतृत्वलाई आचारसंहिताबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा दलका उम्मेदवारहरुले आचारसंहिताको पालना गरेर स्वच्छ प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
दलहरु चुनावी अभियान लिएर गाउँगाउँमा पुगिसकेका छन् । दलहरुको क्रियाकलाप स्वतः नियमन हुन सकोस् भने आचारसंहिता बारे जानकारी गराएको स्याङ्जाका क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले निर्वाचनमा कुनै समस्या नहोस् भनेर आचारसंहिता बनाएको छ, यसलाई हामी दलहरुलाई जानकारी गराउँदै आएका छौं ।”
क्षेत्र नं. २ को कार्यालय वालिङ नगरपालिकामा भएको कार्यक्रममा सहायक निर्वाचन अधिकृत रामप्रसाद पन्थीले निर्वाचन आचारसंहिता २०८२ मा भएका प्रावधानहरुको बारेमा दलका प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराउनुभएको थियो ।
उहाँले निर्वाचनको क्रममा उम्मेदवार, राजनीतिक दल, समर्थक तथा सरोकारवालाहरुले गर्न पाउन र नपाउने विषयमा स्पष्ट पार्दै कानुनी प्रावधानको बारेमा अवगत गराउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबैको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । दलहरु जिम्मेवार भएमात्र निर्वाचन सहज रुपमा सम्पन्न हुने उहाँको भनाइ छ । नागरिकलाई सहज वातावरणमा मत राख्ने अवस्थाको सृजना गर्न आफूहरु सक्रिय रहेको अर्यालले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमले निर्वाचनलाई सफल बनाउन सबै उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरुको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । साथै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. २ का उमेदवार भागवत प्रकाश मल्ल, नेकपा एमालेका उमेदवार खिमबहादुर थापालगायतको सहभागिता रहेको थियो ।
क्षेत्र नं. २ मा ३ जना स्वतन्त्रसहित नौ दलले चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यस्तै क्षेत्र नं. १ मा एक जना स्वतन्त्रसहित ११ दलले चुनावमा भाग लिएका छन् ।
स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा जिल्लामा पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला मतदाता एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । जिल्लामा रहेका १९९ मतदानस्थल मा ३२२ मतदान केन्द्र रहेका छन् ।