• २७ पुस २०८१, शनिबार

भारत सरकारबाट राहत सामग्री हस्तान्तरण

blog

गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राहत सामग्री हस्तान्तरण गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ ।

काठमाडौँ, असार ३१  गते । भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । 

गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय जनता र भारत सरकारको तर्फबाट राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । 

राहत सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई भारतीय जनता र भारत सरकारको तर्फबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताउनुभयो ।

नेपाल बाढी, पहिरो, डबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । 

केही दिन अघिमात्रै नेपालका लागि भारतीय राजदूत बनेर आउनु भएका श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रयाग गर्ने बताउनु भयो । भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो ।