• १३ माघ २०८२, मङ्गलबार

सहिद दिवस : सिफल उकालोमा धर्मभक्त माथेमाको स्मृति सभा

blog

सहिद धर्मभक्त माथेमा

काठमाडौँ, माघ १३ गते । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ। सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानको स्मरण गर्दै सभा आयोजना गरिएको हो।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डङ्गोलले विगतको शासनमा नागरिकले भोग्नुपरेका क्रूरता, असमानता तथा कुण्ठित अवस्था नयाँ पुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको सङ्घर्ष र बलिदानी स्मरण गरिएको बताउनुभयो।

माथेमाले प्रजातन्त्र प्राप्ति र सामाजिक रूपान्तरणमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै डङ्गोलले भन्नुभयो, “माथेमामा उच्च राजनीतिक चेतना थियो, उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवद्र्धक हुनुहुन्थ्यो। राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासनविरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नुपर्ने पाठ हो। शासकसँगको निकट सम्बन्धका कारण उहाँलाई व्यक्तिगत सुखसुविधा प्राप्त हुन सक्थ्यो, तर त्यो त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो।”

सभामा काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमल होडाले असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने उल्लेख गर्नुभयो। उहाँले माथेमाले सहादत प्राप्त गर्नुभएको स्थानको संरक्षणका लागि गुरुयोजना बनाएर काम थालिएको जानकारी दिनुभयो।

यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले नयाँ पुस्तालाई सहिदहरूको आदर्श बुझाउन पाठ्यपुस्तकमै यस्ता विषय समावेश गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “आदर्श बुझाउन सकिएन भने मानव अधिकार र नागरिक स्वतन्त्रता पटक–पटक सङ्कटमा पर्न सक्छ।”

ऐतिहासिक पृष्ठभूमि वि.सं. १९६६ असोज ९ गते काठमाडौँको ओमबहाल (नवहिल) मा जन्मनुभएका माथेमालाई तत्कालीन शासकविरुद्ध गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो। वि.सं. १९९७ माघ १३ गते उहाँलाई सिफल उकालोमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए। सोही निर्णयअनुसार माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु मचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते दशरथ चन्द तथा गङ्गालाल श्रेष्ठलाई विष्णुमती किनार शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। रासस