• ७ जेठ २०८१, सोमबार

प्रदेश १ मा पहिलो पटक : इटहरी चोकमा ट्राफिक लाइट

blog

सुनसरी समाचारदाता

इटहरी, असार ३१ गते । प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश १ मा पहिलो पटक इटहरी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । इटहरी उपमहानगरपालिका–६ को कार्यालयको सक्रियतामा प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपियाँको सहयोगमा ट्राफिक लाइट जडान गरिएको हो । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले इटहरीको मुख्य चोक आसपासको क्षेत्रलाई सवारी जाम न्यूनीकरण गर्न र सडक क्षेत्रमा हुने अपराधबाट बचाउन सीसी क्यामेरा र लाइट प्रभावकारी हुने बताउनुभयो । अहिले पहिलो प्राथमिकतामा इटहरीमा लाइट जडान गरिएको र केही आगामी आर्थिक वर्षमा विराटनगर, दमक, बिर्तामोड, धरानलगायतका सहरमा पनि ट्राफिक लाइट जडान गर्ने योजना प्रदेश सरकारको छ । पैदल यात्रुलाई दृष्टिगत गर्दै सडकमा जेब्राक्रसको व्यवस्थापनलाई पनि प्राथमिकता दिइने मन्त्री कार्कीको भनाइ छ । 

इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले सवारी दुर्घटना न्यूनीकरण र सडक अपराध नियन्त्रण गर्न ट्राफिक लाइटसँगै सीसी क्यामेरा जडान गरिएको बताउनुभयो । पूर्वी नेपालको केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा विगत केही वर्षदेखि सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि ट्राफिक लाइट जडान गरिएको वडाध्यक्ष पोखरेलको भनाइ छ । इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा ट्राफिक लाइटको सिग्नल कन्ट्रोलको काम हुनेछ ।