• ११ माघ २०८२, आइतबार

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

blog

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडा । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, माघ ११ गते । माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पूरा भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित मतदान स्थल भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल कायम गरिएको छ । दुई वटा मतदान केन्द्र रहने सो मतदान स्थलमा प्रदेश सभाका सदस्यका लागि (क) मतदान केन्द्र र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि (ख) मतदान केन्द्र बनाइएको छ । 

प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले सर्वदलीय बैठकसहित मतदान स्थलमा मुचुल्का उठाउने कार्य भएको जानकारी दिनुभयो ।  उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने आवश्यक मतपत्र आइसकेको बताउनुभयो । 

राष्ट्रिय सभा निर्वाचनका लागि फरक रङको मतपत्र तयार गरिएको छ । प्रदेश सभाका सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो रङको र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने प्रयोजनका लागि रातो रङको मतपत्र रहने छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहेको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको मतदाता सूचीमा ३४७ जनाको मात्र नाम रहेको प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । कांग्रेसबाट निर्वाचित नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलिम्बित भएका कारण स्थानीय तहतर्फ २३७ जना मतदाता मात्र कायम गरिएको छ । प्रदेश सभा सदस्यको ५३ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको १९ मतभार रहेको छ ।

प्रदेश सभाका सदस्यको पाँच हजार ८३० र स्थानीय तह प्रतिनिधिको मतभार चार हजार ५०३ गरी यस प्रदेशमा कुल मतभार १० हजार ३३३ हुन्छ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २० गते पदावधि सकिने १८ जना राष्ट्रिय सभा सदस्यमध्ये बागमती प्रदेशबाट दुई जना सदस्यका लागि निर्वाचन हुँदै छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत यस प्रदेशका मतदाताको कुल मतभारका आधारमा महिला र अन्य क्षेत्रमा गरी दुई जना राष्ट्रिय सभा सदस्य पदमा कांग्रेस र एमालेबिचको तालमेल (गठबन्धन) ले जित सहज देखिएको छ । कांग्रेसको तीन हजार ९९४ र एमालेको दुई हजार ५७१ मतभार गरी मतभार छ हजार ५६५ मत हुन्छ जुन कुल मतभारको स्पष्ट बहुमत हो । 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको दुई हजार ७३८, राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८, नेपाल मजदुर किसान पार्टीको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको छ । बागमती प्रदेशबाट महिलातर्फ एक र अन्य क्षेत्रबाट एक गरी दुई सदस्यका लागि चार पार्टीका छ जनाको उम्मेदवारी रहेको छ । महिलातर्फ कांग्रेसबाट चितवनकी गीता देवकोटा र एमालेबाट अन्यतर्फ काठमाडौँका प्रेमप्रसाद दङ्गाल उम्मेदवार हुनुहुन्छ ।

यस्तै नेकपाका तर्फबाट अन्यतर्फ सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा र महिलातर्फ काठमाडौँकी सरोजकुमारी झा तथा नेपाल मजदुर किसान पार्टीबाट महिलातर्फ काठमाडौँकी कविता महर्जन र अन्यतर्फ भक्तपुरका विक्रम ढुकुछू उम्मेदवार बन्नुभएको छ ।