• ११ माघ २०८२, आइतबार

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

नेपाल सुपर सिक्समा पुग्ने सम्भावना कायम

blog

काठमाडौँ, माघ ११ गते । पूजा महतोको अविजित अर्धशतक पालिको सहयोगमा नेपालले शनिबार जिम्बाब्वेलाई छ विकेटले हराएर आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

सुपर सिक्सको सम्भावना कायम राख्न नेपाल र जिम्बाब्वे दुवै टिमलाई आज जितको विकल्प थिएन । यसअघि नेपाल थाइल्यान्डसँग आठ विकेट र नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । जिम्बाब्वे चौथो हारसँगै समूह चरणमा अङ्कविहीन बनेर प्रतियोगिताबाट बिदा भएको छ । नेपालले विश्वकपमा खेल्ने सपनालाई जीवित राख्न सोमबार स्कटल्यान्डविरुद्धको खेल जित्नै पर्ने भएको छ । यद्यपि नेपाललाई सो खेलमा जितले मात्र पनि सुपर सिक्सको प्रत्याभूति दिने छैन । नेपालले सोही दिन अन्य नतिजालाई पनि पर्खनुपर्ने छ । नेपाल समूह ‘बी’ मा दुई अङ्कसहित चौथो स्थानमा रहेको छ । सो समूहमा नेदरल्यान्ड्स तीन खेलबाट नौ अङ्क बनाएर सुपर सिक्समा पुगिसकेको छ । स्कटल्यान्ड र थाइल्यान्ड समान तीन खेलमा चार/चार अङ्क बनाएर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यसैले लिग चरणको अन्तिम दिन नेपालले विशाल अन्तरले जितका साथै नेदरल्यान्ड्ससँग थाइल्यान्डको हारको पनि कामना गर्नुपर्ने छ ।

पूजाको पालि निर्णायक

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बाब्वेले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२९ रनको सामान्य स्कोर तयार पारेपछि घरेलु टिमकी कप्तान इन्दु वर्माको निर्णय सही पनि साबित भयो । त्यसपछि नेपालले तीन बल बाँकी छँदा चार विकेटको क्षतिमा १३३ रन बनाएर लक्ष्य हासिल ग¥यो ।

उपकप्तान पूजा ५२ रन बनाएर आउट हुनुभएन । पूजा ५० बलको अर्धशतकीय पालिमा चार चौका र दुई छक्का सामेल थियो । पूजाको यो टी–२० आईमा तेस्रो अर्धशतक भएको छ । उहाँ टी–२० आइमा तीन अर्धशतक बनाउने नेपालकी पहिलो महिला क्रिकेटर पनि बन्नुभएको छ ।

नेपालकी प्रारम्भिक ब्याटरद्वय सम्झना खड्का र विन्दु रावल दुवैले लगातार तेस्रो खेलमा सुरुवात पाएर पनि त्यसलाई ठुलो पालिमा बदल्न सक्नुभएन । विन्दु १७ बलमा १५ र सम्झना सात बलमा नौ रन बनाएर आउट हुनुभयो । त्यसपछि पूजाले कप्तान इन्दु वर्मासँग मिलेर स्कोरलाई ८२ रनसम्म लग्नुभयो । इन्दु २३ बलमा २२ रन बनाएर पवेलियन फर्कनुभयो । यद्यपि पूजाले नेपालका पालि समाल्दै जित दिलाउनुभयो । यसबिच कविता जोशी एक रनमा आउट र सीता राना मगर ११ रनमा रिटायर्ड हर्ट हुनुभयो । नेपालले खेल जित्दा पूजासँगै रुविना दुई रनमा क्रिजमा हुनुहुन्थ्यो ।

जिम्बाब्वेका लाग जोसिफिन एनकोमोले दुई तथा नोम्भेलो सिबान्दा र क्रिस्टाबेल चाटोन्जाले एक/एक विकेट लिनुभयो ।

यसअघि जिम्बाब्वेका लागि केलिस नोलुभुले ३६ बलमा आठ चौकासहित ५२ रनको अविजित पालि खेल्नुभएको थियो । यद्यपि केलिसले अन्य ब्याटरको साथ पाउनुभएन । जिम्बाब्वेको पालिमा दोहोरो स्कोरमा रन बनाउने अन्य ब्याटरमा बेलोभेड बिजा (३४ रन) र मोडेस्टर मुपाचिक्वा (१४ रन) मात्र हुनुहुन्थ्यो । नेपालका लागि रिया शर्माले दुई तथा कविता कुँवर, पूजा महतो, सीता र रुविनाले एक/एक विकेट लिनुभयो ।

सीता एक हजार रनको कोसेढुङ्गामा

जिम्बाब्वेविरुद्धको संक्षिप्त पालिमा नेपालकी अलराउन्डर सीता रानामगरले टी–२० आईमा एक हजार रन पूरा गर्नुभएको छ । टी–२० आईमा एक हजार रनको उपलब्धि हासिल गर्ने सीता नेपालकी तेस्रो महिला क्रिकेटर हुनुहुन्छ । यसअघि इन्दु बर्मा र रुविना क्षेत्रीले एक हजार रनको कोसेढुङ्गा छुनुभएको थियो । सीताले ६६ खेलमा एक हजार रन पार गर्नुभएको हो । उहाँले टी–२० आईमा एक अर्धशतक पनि बनाउनुभएको छ ।

क्रिजमा टिकेर खेलेँ

अलराउन्ड प्रदर्शन गरी नेपाललाई जित दिलाउने पूजाले जितको मन्त्र आज क्रिजमा टिकेर खेल्नु हो, भन्नुभयो । ‘घरेलु मैदानमा पछिल्ला दुई खेल हारेपछि दबाब थियो । मैले पनि खराब सट खेलेर विकेट फालेँ । सुरुका दुई खेलमा क्रिजमा जम्न सकेको भएन खेल जित्न सक्थ्यौँ त्यसैबाट शिक्षा लिएर आज क्रिजमा टिकेर बसेँ र जित हात पार्न सकेँ, पूजाले भन्नुभयो । उहाँले सुरुका दुई खेलपछि आफू आफ्नो खेलबाट निकै दुःखी भएको तर प्रशिक्षक र सपोर्टिङ स्टाफले आफूलाई राम्रो खेल्न प्रेरित गरेको पनि बताउनुभयो ।