• ८ जेठ २०८१, मङ्गलबार

नेपालमा भेटियो लोपोन्मुख कालो प्रजातिको गिद्ध

blog

नवलपरासीको कावासोतीमा भेटिएको लोपोन्मुख अवस्थामा रहेको कालो गिद्ध डंगर खाँदै । फोटो सौजन्य : भुपाल नेपाली, फिल्ड संयोजक नेपाल पंक्षी संरक्षण संघ

गोकर्ण पौडेल 

तुलसीपुर, असार ३० गते । एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ । 

यो प्रजातिको गिद्ध अमेरिकी महादीपमा मात्रै पाइने गरेको उहाँको भनाइ छ । यो गिद्ध अहिले नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा छ । उक्त गिद्धलाई संरक्षण गर्नका लागि पहल भइरहेको गिद्ध रेष्टरेन्टका अध्यक्ष डीवी चौधरीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार विश्वमा १७ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा ६ स्थानीय र चार घुमन्ते प्रजातिका गिद्ध रहेको चौधरीले बताउनुभयो । नेपालमा लोपोन्मुख अवस्थामा रहेका गिद्ध  सानो खैरो, डंगर र सुन गिद्ध रहेका छन् । अघिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालभर सानो खैरो गिद्धको संख्या ६० मात्रै थियो । 

सानो खैरो गिद्ध विश्वबाट नै लोपोन्मुख अवस्थामा पुगेको गिद्ध हो । गत वर्ष दाङ जिल्लामा गरिएको गणनाअनुसार देउखुरी क्षेत्रमा एक वटा, शान्तिनगर गाउँपालिकाको वडा नम्बर २ मा रहेको विष्णुपुरा सामुदायिक वनमा एक वटा र रामपुरको चरिङगे दह रहेको सामुदायिक वनमा एक  वटा गरी जिल्लाभर ४ वटा संख्यामा गिद्ध रहेको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो । 

अध्यक्ष रावतका अनुसार गत वर्ष शान्तिनगर गाउँपालिका २ मा रहेको विष्णुपुरा सामुदायिक वनमा डंगर गिद्धका ३२ वटा खोर रहेका थिए । एउटा गिद्ध पोथीले एक पटकमा एउटा अण्डा मात्र पार्छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ८ को सम्झना सामुदायिक वनमा १८ वटा, घोराही उपमहानगरपालिकाको रामपुरमा रहेका सामुदायिक वनमा ५० वटा, लमही नगरपालिकाको कप्तानगञ्जमा गिद्धका खोर फेला परेको अध्यक्ष रावतले जानकारी दिनुभयो । 

दाङ जिल्लामा हिमाली, सुन, डंगर, सानो खैरो, सेतो र राज प्रजातिका गिद्ध पाइने अध्यक्ष रावतले जानकारी दिनुभयो । लोपोन्मुख अवस्थामा पुगेको डंगर र सानो खैरो प्रजातिको गिद्ध हो । गिद्ध संरक्षणका लागि पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रले जिल्लाका विभिन्न सामुदायिक वन र खाली क्षेत्रमा पाँच हजार सिमलका बिरुवा रोपेको अध्यक्ष रावतले बताउनुभयो । 

गिद्ध संरक्षणका लागि दाङ जिल्लामा सबैभन्दा पहिले भुल्के सामुदायिक वनले  गिद्धका गुँड संरक्षण, गिद्ध संरक्षणका लागि कार्ययोजनामा समावेश गरी कार्यान्वनयमा ल्याएको सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले बताउनुभयो । त्यसैगरी सामुदायिक वनमा एक सय बढी सिमलका बिरुवा रोपेर बचाएको पकर्रे सामुदायिक वनका अध्यक्ष लोकबहादुर रोकाले बताउनुभयो ।