• ८ माघ २०८२, बिहिबार

धनकुटामा परेन उम्मेदवारविरुद्ध उजुरी

blog

उम्मेदवारी दिने क्रममा उम्मेदवारहरू ।

सन्तोष सुवेदी 

पाख्रीबास (धनकुटा), माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै पनि उम्मेदवारविरूद्ध दाबी विरोधको उजुरी परेन । जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले दिएको जानकारी अनुसार कुनै उमेदवारविरुद्ध उजुरी परेको छैन । 

धनकुटामा राजनीतिक दलका चौध र चारजना स्वतन्त्र गरी जम्मा १८ जनाको उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारी दर्तापछि तोकिएको अवधिमा कुनै उम्मेदवारविरूद्ध उजुरी नपरेको उहाँले बताउनुभयो । 

कार्यालयले उम्मेदवारको नामवली सार्वजनिक गरिएसँगै निर्वाचन कानुनअनुसार दाबी (विरोधका लागि बुधबार १० देखि ५ बजेको समय तोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार दाबी विरोध नपरेपछि निर्वाचन तालिकाअनुसार उम्मेदवारको अन्तिम नामवली प्रकाशनको प्रक्रिया बढाइने जनाएको छ । 

माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । निर्वाचनाका लागि धनकुटामा नेपाली कांग्रेसबाट दिनेश राई, नेकपा (एमाले) बाट राजेन्द्रकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, नेपाल मजदुर किसान पार्टीबाट उत्तम साखकर्मी, जनता समाजवादी पार्टीबाट निशान राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै, सङ्घीय लोकतान्त्रिक मञ्चबाट बालकुमार ताम्ली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रविनकुमार राई, आम जनता पार्टीबाट प्रेमबहादुर थापा, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट सागर राई हुनुहुन्छ । यस्तै, स्वतन्त्रबाट मनकुमार योञ्जन, जीतेन्द्र राई, गङ्गाराम गोम्देन र लाक्पा तामाङले उमेदवारी दिनुभएको छ ।