अनिल पराजुली
हेटौँडा, माघ ८ गते । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा अधिकांश युवा छन् ।
निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार २५ वर्षदेखि ४० वर्षसम्मका १७ जना, ४० वर्षदेखि ५० वर्षसम्मका १४ जना, ५० वर्षदेखि ६० वर्षसम्मका ८ जना र ६० वर्षभन्दा माथि उमेरका ५ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र २ बाट २५ वर्षीय कान्छा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेति र निर्वाचन क्षेत्र १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ६४ वर्षीय दीपकबहादुर सिंह, स्वतन्त्र उम्मेदवार ६४ वर्षीय टीकाप्रसाद चौलागाईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । निर्वाचन क्षेत्र १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । क्षेत्र १ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर २ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।