• ८ माघ २०८२, बिहिबार

बुटवलमा कृषि मेला स्थगित

blog

छविलाल पाण्डे 

बुटवल, माघ ८ गते । बुटवलमा सञ्चालन गर्ने तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीको आयोजनामा यही माघ १४ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने तयारी गरिएको भएपनि निर्वाचन सम्पन्न नभएसम्मका लागि रोक्नुपरेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागु भएकाले मेला तत्कालका लागि स्थगित गर्नुपरेको हो । 

अध्यक्ष अर्यालले कानुनी र नीतिगत बाध्यताका कारण मेला गर्न नसकिएको बताउनुभयो । सङ्घले निर्वाचन सम्पन्न भएपछि उपयुक्त समय तय गरी कृषि मेला पुनः सञ्चालन गरिने जानकारी दिएको छ ।

सङ्घले हरेक दुई दुई वर्षमा कृषि उत्पादन, प्रविधि, बजार प्रवर्धन तथा किसान र व्यवसायीबिच समन्वय बढाउने उद्देश्यले बुटवलमा कृषि मेला आयोजना गर्दै आएको छ । मेला स्थगित भए पनि आगामी दिनमा अझ व्यवस्थित रूपमा मेला आयोजना गरिने सङ्घले विश्वास व्यक्त गरेको छ ।