• ८ माघ २०८२, बिहिबार

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

blog

मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवार विरुद्ध उजुरी परेन । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो । 

मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार उम्मेदवार विरुद्ध उजुरी नपरेपछि आठ राजनीतिक दलका उम्मेदवारबिच प्रस्तिपर्धा हुने भएको छ । मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा (एमाले) बाट इन्द्रधारा विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदित्य चन्द्र थकाली, आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचनले मनोनयनपत्र दर्ता गरेका थिए । 

उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशित गरिने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।