नवीनराज कुइँकेल
लमजुङ, माघ ८ गते । मर्स्याङ्दी नदीमा बन्न लागेको ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजना बनाउन जिल्लास्थित सबै राजनीतिक दलहरू सहमत भएका छन् । आयोजनाले स्थान र डिजाइन परिवर्तन गर्ने भएपछि दलहरू निर्माण गर्न दिन सहमत भएका हुन् ।
यद्यपि आयोजनाको विरोधमा गठित मर्स्याङ्दी बचाउ अभियानका केही अगुवाहरू यसको विरोधमा देखिएका छन् । यसअघि स्थानीयले जलविद्युत् आयोजना निर्माणले बेँसीसहरको सुन्दरता बिगार्ने र सहरलाई दूरगामी रूपमा नकारात्मक प्रभाव पर्ने भन्दै विरोध गर्दैआएका थिए ।
बेँसीसहर नगरपालिकाको वडा ६ मा बाँध बाँधेर वडा १० को सालडाँडामा विद्युत् गृह रहनेगरी डिजाइन गरिएकोमा बेँसीसहरवासीको विरोधपछि आयोजना पक्षले स्थान र डिजाइन परिवर्तन गरेको छ ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेका अनुसार नयाँ डिजाइन अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–९ को बगैँचामा बाँध बाँधेर बेँसीसहर–१०, भोटेफाँटमा विद्युत् गृह बन्ने छ । यसअघि सुरुङ मार्गको डिजाइन रहेकोमा अब पेनस्टक पाइप प्रयोग गरिने न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयोजनाले स्थानीयस्तरमा वातावरण र जनजीवनमा कम असर होस् भनेर सबै उपाय अपनाएका छौं । पुरानो डिजाइन परिवर्तन गरेका छौं ।” कम्पनीका अनुसार यस आयोजनाबाट विद्युत् उत्पादन भएपश्चात् कम्पनीको आम्दानीको २ प्रतिशत र प्रतिमेगावाट १ लाखका दरले वार्षिक ५० लाख गरी जम्मा साढे तीन करोड रुपियाँ रोयल्टीबापत नेपाल सरकारलाई बुझाउनु पर्छ ।
सो रोयल्टीबापतको रकम आयोजना प्रभावित स्थानीय तहमा आउने प्रावधान रहेको छ । वातावरणीय असर मूल्याङ्कन प्रतिवेदनको प्रावधानअनुसार सामाजिक उत्तरदायित्वको कार्यका लागि सम्बन्धित निकायसँग छलफल तथा परामर्श गरी प्रभावित क्षेत्रमा खानेपानी, मठमन्दिर, स्कुल तथा बाटो मर्मत र अन्य आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने आयोजनाले जनाएको छ ।
आयोजनाको डिजाइन र स्थान परिवर्तनपछि बेँसीसहर बजार क्षेत्रमा मर्स्याङ्दी नदी बग्न पाउने भएको छ । स्थान परिवर्तन गर्न आयोजना सहमत भएपछि यसअघि स्थानीयसँगै विरोधमा रहेका राजनीतिक दलहरू पनि आयोजना निर्माण गर्न दिन एकमत भएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरू आयोजना बन्न दिनुपर्ने पक्षमा उभिएका थिए । नेकपा (एमाले) का उपाध्यक्ष जीतबहादुर गुरुङ, नेपाली कांग्रेसका सचिव कृष्णबहादुर अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सुनिल सुनार, राप्रपाका अध्यक्ष केविन्द्रजङ्ग गुरुङले आयोजना बन्न दिनुपर्ने बताउनुभयो ।
बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पनि आयोजना बन्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाले स्थानीयको माग आयोजनाले पूरा गरेकाले विकासको काममा अवरोध नगर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
रन अफ दि रिभर प्रकृतिको यो आयोजना बन्न कुल लगानी करिब १० अर्ब रुपियाँ रहेको छ । यसमा ३० प्रतिशत इक्विटी लगानी प्रवर्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैँकबाट हुने छ । आयोजना २ वर्ष ६ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सब स्टेसनमा जोडिने छ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्त्वपूर्ण योगदान दिने छ । आयोजनाले इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यका लागि ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति र जडान कार्यको जिम्मेवारी दिइसकेको छ ।