गोरखापत्र अनलाइन
काठमाडौं, असार ३० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा स्वतन्त्र व्यक्ति कोही नभएको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो ।
स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरु स्वतन्त्र नभइ विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरु भएको अध्यक्ष दाहालले दाबी गर्नुभयो । “अहिलेको नेपालमा र समयमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस छैनन्” उहाँले थप्नुभयो, “नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक छ । जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरु, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा शुरु गर्न आवश्यक छ ।”
नेपालमा विज्ञानको प्रयोग सचेत रुपले हुन नसकेको पनि उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्ति सफल भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘विज्ञान प्रविधिको प्रयोग जनस्तरमा गर्ने कुरामा हामीले शिक्षा, उत्पादन, कृषि, उद्योग, पर्यटन, स्वास्थ्यमा समाजिक जीवनका सबै क्षेत्रमा विज्ञान, प्रविधिलाई आमरुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न सक्नुपर्छ ।’ हामीकहाँ केही भएन भन्ने कुरा होइन, हामी जहाँसम्म आइपुगेका छौँ, परम्परागत, रुढी वा एक खालको उत्पादन सम्बन्धलाई तोड्दै नयाँ उत्पादन सम्बन्धतिर र नयाँ उत्पादक शक्तिको विकासको आधार निर्माणतिर हामी जागरुक भएर आइपुगेका छौं उहाँले भन्नुभयो ।
“प्रत्येक क्रान्ति राजनीतिक रुपमा पूर्ण हुन सकेको छैन कम्परमाइजमा टुंगिएका छन्” अध्यक्ष दाहालले थप्नुभयो, “राजनीतिक नेतृत्वले विज्ञानलाई, प्रविधिलाई आधार मानेर काम गर्ने ठाउँमा आएको छैन । अहिले देशमा जनतालाई मालिक हुन नदिने प्रवृत्ति छ ।” जनतालाई अधिकार दिनेभन्दा अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने प्रयास भइरहेको अध्यक्ष दाहालले बताउनुभयो । अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति कम्परमाइजका कारण राजनीतिक रुपमा पूर्ण हुन नसकेको बताउनुभयो ।