साहारा लिम्बू
फुङलिङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो ।
उपाधिसँगै हाङ्पाङले नगद एक लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल फुङलिङले एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो ।
गोल्ड कप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती)को अवसरमा सञ्चालन गरिएको श्री वरकदेन युवा क्लबका अध्यक्ष उमेश केदेमले बताउनुभयो । खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रवर्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने मूल उद्देश्य रहेको पनि अध्यक्ष केदेमको भनाइ छ ।