यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), माघ ७ गते । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गाउँनजिक आफ्नो खेतबारीमा तोरी काटिरहेको समयमा चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका ११ बेलभारकी करिब ५५ वर्षीय खिदनी थारूको मृत्यु भएको हो ।
साँझ करिब साढे ५ बजेको समयमा तोरी काटिरहेको अवस्थामा चितुवाले एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । अरु किसानहरू पनि खेतमा भए पनि एक्लै आफ्नो खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूले बताउनुभयो ।
पछिल्लो समय बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउन यता पाँच जनाको चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जनाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।